यसरी मनार्इयाे संविधान दिवस (फाेटाेफिचर)



काठमाडौँ । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेकाे छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको थियो ।


प्रधानमन्त्रीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । 

संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उनले भने, “समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत÷पसिना बगाउने देशवासीसँगै पटकपटक गरेका छौँ । हामी अब समृद्धिको सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौँ ।” 

आधुनिक नेपालको कोसेढुङ्गा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जिउने अभिलाषा पूरा हुने उल्लेख गर्दै उनले मौलिक हकसँग जोडिएका कानून तर्जुमा भइसकेको र सुशासनका लागि आवश्यक कानूनी प्रबन्ध हुने क्रममा रहेको बताए । 

सङ्घीय प्रणाली नेपालको नयाँ प्रयोग भएकाले व्यवहारको कसीमा यसले पूर्णता पाउने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, “सङ्घीयता ठीक कि बेठीक भन्ने प्रश्न अब हाम्रो सन्दर्भमा सान्दर्भिक रहेन । बहस र तर्क-वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुन्छ तर जब राष्ट्रले निर्णय लिन्छ । नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ ।” 

उहाँले संविधानमा कतै छेउकुना नमिलेको भए वा कहीँकतै राँटो बाँकी रहेको भए समयक्रममा मिलाइने र अमिल्दा देखिएको विषयको परिमार्जन र संशोधन हुने विश्वास व्यक्त गरे । 

अधिकार प्राप्तिको राजनीतिक आन्दोलनको चरण र प्रयोग सकिएकाले अब शान्तिपूर्ण, सशक्त वा सशस्त्र हिंसात्मक आन्दोलन संविधान लागू भएसँगै इतिहास बन्नुपर्नेमा जोड दिँदै उनले भने, “अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा अब कुनै पनि प्रकृतिको जबर्जस्ती र अनुचित क्रियाकलाप आवश्यक छैन ।” 

प्रधानमन्त्री ओलीले विवेकहीन नहुने र राज्यले विधि मिच्न मिल्दैन भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै उनले राष्ट्रले देखेको सपनालाई राज्यका सबै निकायले एउटै लयमा समाउनुपर्ने आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भने, “कार्यपालिका, व्यवस्थापिका वा न्यायपालिका तिनै निकायले नागरिकको सन्दर्भमा निर्णय लिँदा सन्तुलित र विवेकी हुनुपर्छ ।” 

कर्यक्रममा ‘संविधान दिवस २०७५’ लेखिएको ब्यानर अङ्कित नेपाली सेनाको चार वटा हेलिकोप्टरमा पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका तर्फबाट मार्चपास तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो । काठमाडौँ र ललितपुर महानगरपालिका तथा उपत्यकास्थित स्थानीय तहबाट झाँकी प्रस्तुति गरिएको थियो भने राष्ट्रिय भावनाका गीत प्रस्तुत गरिएको थियो । 

समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो । 


तस्विर : प्रदीपराज वन्त, रासस

 

प्रतिक्रिया दिनुहोस्