जन्मकैद पाएका पूर्वराज्यमन्त्री सञ्जय ‘टकला’ को नालीबेली



जनकपुरधाम : धनुषा जिल्ला अदालतले पूर्वराज्यमन्त्री सञ्जयकुमार साह उर्फ सञ्जय ‘टकला’लाई जन्मकैदको सजाय सुनाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीसहित ७ जनालाई बिहीबार जन्मकैदको फैसला गरेको हो।

६ वर्षअघि जनकपुरधाममा भएको बमकाण्डका मुख्य योजनाकार मानिएका सञ्जय ‘टकला’ जनकपुर बमकाण्डमा ५ वर्षदेखि पूर्पक्षका लागि थुनामा थिए।

२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै गरेको आन्दोलन क्रममा जनकपुरधामको रामानन्द चोकमा गराएको बम विस्फोटमा ५ जनाको मारिनुका साथै करिब ४० जना घाइते भएको थिए।

उनीरूविरुद्ध ज्यान मार्ने र ज्यान मार्ने उद्योगमा दुई मुद्दा परेका थिए। ती मुद्दामा फैसला गर्दै अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सुनाइएको छ ।

ज्यान सम्बन्धी महलको १३(४)र १५ नं. को कसुरमा सोही महलको १३ (४) बमोजिम जनही जन्म कैद र १५ नं. बमोजिम १२ वर्ष सजाय पाउनेमा पूर्वराज्यमन्त्री साहसहित भूमिगत संगठनका मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झा छन्।

विस्फोटमा संलग्न ओमप्रकाश यादवको हकमा १० वर्ष र ५ वर्ष कैद सजाय सुनाइएको छ भने सुजितकुमार पाण्डेलाई सफाइ दिएको छ। अदालतले फरार अभियुक्त जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार यादव र नारायण भन्ने उमेश तिवारीको मुद्दा भने मुल्तबीमा राखेको छ ।

विस्फोटमा चर्चित रंगकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो।

जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्या अभियोग मुद्दामा पूर्वराज्यमन्त्री साह अहिले पुर्पक्षमै छन्, त्यसको पनि चांडै नै सुनुवाइ हुने भएको छ। यसअतिरिक्त सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान जारी छ।

को हुन् सञ्जय टकला ?

कुनै समय जनकपुरधाममा ‘टकला’ डनका रूपमा परिचित साहले कबाड र ठेक्काबाट मनग्गे कमाएर संरक्षणका लागि २०६४ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।

साबिक लोहना गाविस र हाल जनकपुरधाम उपमहानगरपालिका–४ निवासी साधु साहका छोरा सञ्जय विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नेसम्म डन छवि बनाएर उक्लेका थिए । उनले कैयौं पटक सार्वजनिक अपराध र कुटपिटमा जेलनेल बिताइसकेका छन्।

उपेन्द्र यादवको नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ साल चैत २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र ४ बाट पहिलो पटक निवार्चित हुंदै राजनीतिक यात्रा सुरु गरेका थिए।

जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासद् निर्वाचित भएलगत्तै तीन राउन्ड फायर गरेर जितको जश्न मनाएका थिए। साह सो निर्वाचनमा १३ हजार ४ सय २२ मत ल्याएर भारी मत अन्तरले तत्कालीन एमाले नेता एवं ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पराजित गरेका थिए।

सभासद् रहेकै बेला फोरम नेपाल परित्याग गरी उनी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए।

०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट नेपाली कांग्रेसका नेता रामसरोज  यादवलाई हराउँदै धनुषाको क्षेत्र ४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए। निर्वाचन सम्पन्न भएलगत्तै उनलाई सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको थियो।

साह धनुषाबाट निरन्तर दुई पटक निर्वाचित हुने पहिलो सभासद् हुन्। अहिलेसम्म जनकपुरमा कुनै पनि नेताले लगातार दुई पटक प्रत्यक्ष निर्वाचन जित्न सफल भएका छैनन्।

साहविरुद्ध हाततियार मुद्दाको नालीबेली

तत्कालीन सभासद् साहले हातहतियार तथा खरखजाना मुद्दा र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय भुक्तान गरिसकेका छन्। तत्कालीन पुनरावेदन अदालत जनकपुर र सर्वोच्च अदालतबाट समेत उक्त मुद्दासहित अन्य मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेका हुन्।

विसं ०६० जेठ ३ गते धनुषाको सखुवा महेन्द्रनगरमा हातहतियार देखाई स्थानीयहरूलाई लुटपाट गर्न खोजेको भन्दै रामजीवनप्रसाद गुप्ताले दिएको जाहेरीपछि साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सजाय र जरिवाना गरेको थियो।

हातहतियार र खुकुरी बोकेर होहल्ला गरी हिँडेको उनको खानतलासी गर्दा प्रहरीले उनको साथबाट खुकुरी १ थान, गोली लोड भएको पेस्तोल १ थान बरामद भएको तत्कालीन इन्स्पेक्टर मोहनकुमार शेर्पाको प्रतिवेदनमा छ।

सो मुद्दामा ३० असार ०६१ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्लेले साहलाई १ वर्ष ९ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय गरेको थियो। फैसलाविरुद्ध साहले तत्कालीन पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा ३० जेठ ०६३ मा न्यायाधीशद्वय गिरिराज पौड्याल र भोलाप्रसाद खरेलको संयुक्त इजलासले जिप्रकाको फैसलालाई नै सदर गरेको थियो।

सर्वोच्च अदालतले पनि २०६८ सालमा पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको थियो।

सञ्चार उद्यमी हत्याको अर्को मुद्दा

साहविरुद्ध जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकार र अभियुक्त बनाइएको छ।

विसं ०६६ साल फागुन १७ गते होलीमा जनकपुरको शिव चोकमा हत्या गरिएका सिंघानियाको मुद्दाको सुनुवाइ पनि चाँडै हुने भएको छ। सो मुद्दामा साहलाई मुख्य योजनाकार भनिएको छ ।

धनुषा जिल्ला अदालतले उक्त मुद्दामा पनि साहलाई पूर्पक्षमा राखेको छ। सो घटनामा साहसहित सद्भावनाका ५ केन्द्रीय सदस्य रामविनोद यादव, सशस्त्र समूह जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादव, एकलाल भन्ने योगेन्द्र सहनी र अन्ती राईनलाई पनि पुर्पक्षका लागि थुनामा छन्।

साहसहित २६ जनाको सम्पत्ति रोक्का

सम्पत्ति शुद्धीकरण विभागले साह र उनका परिवारसहित २६ जनाको सम्पत्ति रोक्का गरेको छ।

सिआइबी (केन्द्रीय अनुसन्धान ब्युरो)ले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ तथा सम्पत्ति सुद्धिकरण निवारण ऐन २०६६ बमोजिम साहलगायत २६ जनामाथि अकूत सम्पत्ति आर्जनमा अनुसन्धान भइरहेकाले बेचबिखन गर्न प्रतिबन्ध लगाएको हो।

मालपोत कार्यालय धनुषालाई पठाएको एक पत्रमा मालपोत विभाग काठमाडौं वा अदालतको अर्को आदेश नभएसम्म सबै सम्पत्ति रोक्का गर्न आदेश दिइएको छ। विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान भइरहेकाले उनीहरूको जग्गा जमिन बेचबिखन नगर्न नगराउन आदेश दिएको पत्रमा उल्लेख थियो।

साह र उनका परिवारसहित सम्पत्ति रोक्का गरिएका २६ जना मध्येमा साहका बुवा साधु साह सुँडी, पत्नी रंगीलाकुमारी साह, आमा दुलारीदेवी साह सँुडी, भाइ र बहिनी अनिताकुमारी पनि छन्।

साहकी अर्की बहिनीहरू देवन्तीकुमारी साह, मुन्नीकुमारी साह, बबिताकुमारी साह, जनकपुर नगरपालिका–१६ का विक्रम पन्जियार, विक्रमका छोराहरू सुजित, अजित र अमर, बेंगासिहपुर–१ का ओमप्रकाश यादवको पनि सम्पत्ति रोक्का छ।

साहसँग कति छ सम्पत्ति

सामान्य किसान परिवारका साहले १७ वर्षमै विभिन्न आपराधिक काम र ठेक्काबाट अर्बपति भएको सिआइबीका अनुसन्धान अधिकारीको ठहर छ।

विसं ०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा पनि थिएन। पुख्र्यौली गाउँ लोहनामा १५ कठ्ठा २ धुर जग्गा मात्र उनीसँग रहेको सिआइबीको अनुसन्धानमा देखिएको थियो। पक्राउ पर्नुअघि उनले धनुषादेखि काठमाडौंसम्म आफ्नो अपराधको जालो फैलाइसको थिए। अहिले उनसँग देशका मुख्यमुख्य सहरका महँगा क्षेत्रमा प्रसस्त जग्गाजमिन छ।

ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार साहले आफ्नोबाहेक बुबा साधु, पत्नी रंगिलादेवी र आमा दुलारीदेवीका नाममा चलअचल सम्पत्ति जोडेका छन्।

धनुषामा मात्र साह परिवारको २ बिघा जमिन छ। जनकपुर नगरपालिकाभित्रै १० ठाउँमा गरी उनले करिब १० कठ्ठा जग्गा जोडेका छन्। घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपैयाँमा जग्गा किनबेच हुन्छ। प्रतिधुर औसत २० लाख रुपैयाँका आधारमा पनि १० कठ्ठा जग्गाको मूल्य ४० करोड बराबर हुन्छ।

जनकपुरको मुटु मानिने कदम चोकमा उनले ३४ धुर जग्गा जोडेका छन्, जसमा उनले भव्य घर पनि बनाएका छन्। धनुषाकै भरतपुर–४ मा उनको एक बिघा जमिन भेटिएको छ भने नक्टाझिज–८ मा १० कठ्ठा । यो क्षेत्रमा प्रतिकठ्ठा सालाखाला १५ लाख रुपियाँ पर्छ । यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपैयाँभन्दा बढीको छ।

उनले आफ्नै नाममा ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ । यस जग्गाको मूल्य मात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ । उनीसँग घरजग्गा मात्र करिब ५२ करोड रुपियाँ बराबरको देखिन्छ ।

दर्जन कम्पनीका मालिक

चल र अचल सम्पत्ति जोडेका उनले धेरै कम्पनीमा लगानी गरेको पाइएको छ । साहका नाममा नै ९ कम्पनी दर्ता छन् । कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनी जति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन ।

निर्माण व्यवसाय, वित्तिय कम्पनी, पेट्रोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुँच बनाएका छन्। केही कम्पनीका त विभिन्न ठाउँमा शाखा कार्यालयसमेत छन्।

धु्रवतारा कन्स्ट्रक्सन, मिथिला मनि ट्रान्सफर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलजी, केबी पेट इन्डस्ट्रिज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, कर्णाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहले लगानी भेटिएको छ। यीमध्ये धु्रवताराको चितवनमा, केबी पेटको ललितपुरको लगनखेलमा शाखा कार्यालय छन्। बाँकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन् ।

प्रतिक्रिया दिनुहोस्