वेपत्ता भएको सय दिनपछि वडाध्यक्ष सम्पर्कमा



अर्घाखाँची : जिल्लाको मालारानी गाउँपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) वेपत्ता भएको सय दिनपछि सम्पर्कमा आएका छन् । शुक्रबार बिहान बुटबलबाट फोन गरेर आफू सकुशल रहेको जनाएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । 

उनी कहाँ र किन गएका थिए, भन्ने बारेमा जानकारी नगराएको तर आफू सकुशल रहेको जनाएको अध्यक्ष आचार्यले बताए । उनी भारतमा गएर बसेको हुनसक्ने अनुमान गरिएको छ । तर किन र केका लागि वा कुन समस्याले भन्ने थाहा हुन सकेको छैन । 

पुस २ गते मालारानी–२ डाडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए । गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको थिएन । 

प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो । वडाध्यक्षको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ती बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो । तर उनी कहाँ गए भनेर पत्ता लाग्न सकेको थिएन । 

आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुर गञ्जको प्लाइ उद्योग, कृष्ण नगर नाकाको सीसी क्यामेराको फुटेज, बुटबल भैरहवालगायत गोरुसिंगे सन्धिखर्क सडकको जंगलमा समेत सर्च गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन ।

उनी सम्पर्कमा आएको गाउँलेले जानकारी दिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए । उनले तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा मालारानी–२ को वडाध्यक्ष जितेका थिए । 

प्रतिक्रिया दिनुहोस्