बोइङविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर



वासिङटन : हवाईजहाज निर्माता अमेरिकी कम्पनी बोइङविरुद्ध अमेरिकाकै अदालतमा बिहीबार मुद्दा दायर भएको छ।

१९ दिनअघिको इथियोपियाली वायुसेवाको बोइङ ७३७ म्याक्स दुर्घटनामा मारिएका ज्याक्सन मुसोनीको परिवारले सिकागोको संघीय अदालतमा मुद्दा हालेको हो। बोइङविरुद्ध मुद्दा हाल्ने मुसोनीका ३ नाबालिग सन्तान बेल्जियममा बस्छन्। 

मार्च १० मा भएको दुर्घटनामा विमानमा रहेका १ सय ५७ जना सबैको मृत्यु भएको थियो।

रवान्डाका नागरिक मुसोनीको परिवारले बोइङ कम्पनीमाथि विमानको स्वचालित उडान नियन्त्रण प्रणाली त्रुटिपूर्ण डिजाइन गरेको आरोप लगाएका छन्।

बोइङले मुद्दाबारे कुनै प्रतिक्रिया दिन मानेन।

‘बोइङ सरकारी निकायसँग मिलेर आफ्ना विमानलगायत सफ्टवेयर सबैको जाँच  गरिरहेको छ’, कम्पनीले भनेको छ।

इथियोपियन एयरलाइन्सको बोइङ दुर्घटना भएपछि विश्वभरिका सबै वायुसेवा कम्पनीले बोइङ ७३७ म्याक्स मोडलका विमान नउडाएर थन्क्याएका छन्। इथियोपियाली विमानभन्दा पहिले गत अक्टोबरमा लायन एयरको त्यही मोडलको बोइङ विमान इन्डोनेसियामा दुर्घटना हुँदा त्यसमा रहेका सबै १ सय ८९ जनाको मृत्यु भएको थियो।

बोइङ कम्पनीले सबै ७३७ म्याक्स विमानमा एन्टी–स्टल सिस्टममा सुधार गर्न सफ्टवेयर रिप्रोग्राम गरेको बुधबार बताएको थियो। ५ महिनायता भएका दुई दुर्घटनाले एन्टी–स्टल सिस्टममाथि नै आशंका उब्जाएका छन्।

इथियोपियाली अधिकारीहरू र अन्य केही विशेषज्ञका अनुसार इथियोपियाली बोइङ विमान र अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दुर्घटनाको तरिका उस्तै भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्