यसकारण हुन्छन् सुदूरपश्चिममा ठूला सवारी दुर्घटना



कैलाली : सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाका कारण वर्षेनी सयौं सर्वसाधारणले अकालकै ज्यान गुमाइरहेका छन् भने कतिपय अगंभंग भई कष्टप्रद जीवन बिताइरहेका छन्।

अछामको जयगढबाट धनगढीतर्फ आउँदै गरेको बस २०६९ सालमा डोटीको रुबसकाँडामा दुर्घटना हुँदा ३१ जनाले अकालमै ज्यान गुमाउनु पर्यो। सोही घटनामा १३ जना घाइते भए। समम्भतः यो सुदूरपश्चिम प्रदेशको अहिलेसम्मकै ठूलो सवारी दुर्घटना हो।

त्यस्तै देश नै स्तब्ध हुने गरी २०७१ साल असोज २० डोटीको जोरायलमा भएको बस दुर्घटनामा परी २९ जनाको मृत्यु भयो। ६८ भन्दा बढी घाइते भए। दुर्घटनामा मृत्यु हुने केवल स्मृतिमा रहे। सामान्य घाइतेका घाउहरू पनि पुरिए। अपाङ्गता भएकाले जसोतसो जीवन चलाउँदै छन्। त्यसपछि पनि प्रदेशका विभिन्न स्थानमा ठुला दुर्घटना हुने क्रम जारी रह्यो।

सुदूरपश्चिम प्रदेशमा मात्रै आर्थिक वर्ष २०७१ देखि ०७५ सम्म पाँच वर्षको अवधिमा ८ सय ७१ सवारी दुर्घटनामा ७ सय ७५ जनाले ज्यान गुमाए। त्यस्तै १७ सय ९६ जना घाइते र अंगभगं हुनुपरेको तथ्यांक छ। नेपालभर सोही ५ वर्षमा घटेका सवारी दुर्घटनामा ११ हजार २ सय ८७ जनाले ज्यान गुमाएको तथ्यांक छ।  

पटकपटक भइरहेका यस्ता भयानक दुर्घटनाहरू रोक्न सरोकारवाला निकायबाट पहल भएनन्। फलस्वरुप गत मंसिर ६ गते डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा १८ जनाको मृत्यु र २५ जना घाइते हुनेगरी बस दुर्घटना भयो। यस्तै गत फागुन १८ गते दार्चुला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको जीप राताकाठा भीरबाट खस्दा ११ जनाले अकालमै ज्यान गुमाउनु पर्यो।

विभिन्न दुर्घटनामा परेका घाइतेहरूलाई उपचार खर्च र मृतक परिवारलाई राहात दिने भन्दै प्रदेशदेखि केन्द्रका नेताहरूले भाषण गरे। तर, नत घाइतेले उपचार खर्चनै पाए। नत मृतक परिवारले राहात। यस प्रदेशमा विगत तीन वर्ष यता घटेका ६ सय १२ सवारी दुर्घटनाहरूको कारणमध्ये ४ सय ६२ सवारी दुर्घटना चालकको लापरवाहीले र ७८ दुर्घटना तीव्र गतिले भएकोे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। चालू आर्थिक वर्षको आठ महिनामा प्रदेशभर १ सय ३० सवारी दुर्घटनामा परी १ सय ३७ जनाले अकालमै ज्यान गुमाउनु परेको र २ सय ९९ जना घाइते र अंगभंग हुनुपरेको तथ्यांक छ। 

१० वर्षे सशस्त्र द्वन्दकालको समयमा मृत्यु हुनेको संख्या १७,००० थियो भन्ने पछिल्लो ५ वर्षको अवधिमा देशभर सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ११,२८७ जना रहेको छ। के हामी महायुद्धमा छौ ? – प्रदेश ट्राफिक प्रहरी प्रमुख केदार रजौरे

न्यून जनशक्ति, उच्च ट्राफिक चाप 

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीको जनशक्ति न्यून रहेको तथ्यांक छ। हाल प्रदेश नम्बर ३ मा २ सय ४० जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ। त्यस्तै प्रदेश नम्बर ४ मा २ सय ४१ जना ट्राफिक प्रहरीको जनशक्ति रहेको अवस्थामा यस प्रदेशमा भने २०३ जनाको मात्रै दरबन्दी रहेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीको चेक पोष्ट र कार्यालय गरी ४० ओटा कार्यालय रहेका छन् भने प्रदेशभर एक लाख बढी सवारी साधनहरू दर्ता छन्।

बझाङ्ग, बाजुरा र दार्चुलामा स्थायी दरबन्दी कायम गरेर काम गरिरहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख केदार रजौरेले बताए। ट्राफिक व्यस्थापनमा आफूहरूले थुप्रै समस्या भोग्नु परेको गुनासो गर्दै भने,‘भौतिक पूर्वाधारको कमी छ। ट्राफिक जनशक्ति र आधुनिक उपकरण छैनन्। सिसी क्यामेरा एक ठाउँमा पनि जडान भएका छैनन्। सवारी साधनको अभाव जस्ताको त्यस्तै छ। यस्ता समस्याको बीच काम गर्न निकै कठिन अवस्था छ।’ 

सिसीटीभी क्यामेरा शून्य, साधनस्रोत न्यून

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी मातहत झापाको विर्तामोडमा ४ थान र सुनसरीको कटानमा ५ थान सिसीटि क्यामेरा जडान छन्। यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया मातहत पथलैया, चपुर रौतहट, ढल्केवर र जिरो माइल धनुषा, बर्दिबास महोत्तरी, लहान सिरहा र सप्तरीको सम्भुनाथ बजारमा ७ थान सिसी क्यामरा जडान गरी ट्राफिक प्रहरीबाट मनिटर हुँदै आएका छन्।

गगनगौडा कास्की मातहत पोखरा महानगर क्षेत्र अन्तर्गत १३ वटा प्रमुख स्थानमा सिसी क्यामरा जडान गरी मनिटर व्यवस्था मिलाइएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल मातहत बुटवल बजारको प्रमुख १० स्थानमा क्यामरा जडान गरी मनिटर व्यवस्था मिलाईएको छ। त्यस्तै कास्कीका बिभिन्न स्थानमा १ सय ३७ थान सिसीटिभी जडान गरी मनिटर व्यवस्था मिलाइएको छ। तर, यस प्रदेश अन्र्तगतका कुनै पनि स्थानमा हालसम्म ट्राफिक प्रहरीबाट सिसीटिभी जडान भएका छैनन्।

सडकमा सिसीटिभी क्यामेरा जडान नहुँदा दुर्घटना बढेको ट्राफिक प्रहरीको दाबी छ। यस प्रदेशका प्रमुख व्यस्त सडकमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणका लागी थुप्रै स्थानमा सिसीटिभी तत्काल आवश्यक भएको प्रदेश ट्राफिक कार्यालयको भनाई छ। 

कैलालीका चिसापानी, लम्की, अत्तरीया चौराहा, धनगढी चौराहा, त्रिनगर भन्सार, कञ्चनपुर झलारी, चमनचोक, गड्डाचौकी, डडेल्धुरा स्याउले, डोटी बुडर, पिपल्ला, अछाम साफेबगर, बाजुरा फालासैन, बैतडी खोड्पे, घोठालापानी र दार्चुला खलंगामा मात्रै सिसीटिभी क्यामेरा जडान गर्न सके सवारी दुर्घटना देखि अपराधिक गधिविधि कम गर्न सकिने प्रदेश ट्राफिक प्रहरी प्रमुख केदार रजौरेको भनाई छ।

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीलाई उपलब्ध साधन स्रोतहरूपनि न्यून अवस्थामा रहेका छन्। जसले गर्दा ट्राफिक प्रहरीलाई फिल्डमा जान र घट्नास्थलमा पुगेर सेवा प्रभाव गर्न समस्या भएको ट्राफिक प्रहरीको गुनासो छ। ब्रेथलाईजर १८, म्याजिक लाईट ५८, मेघाफोन ४, उडकटर–मेटलकटर १–१, सवारी साधन (बलेरोर स्कार्पियो पिकअप) ३, मोटरसाइकल १२ ओटा मात्रै स्रोत साधन रहेका छन्। 

राजस्व संकलन शून्यमा झार्न चाहान्छौं 

ट्राफिक नियम मिच्ने सवारी चालकलाई कारबाही गरी सुदूरपश्चिम प्रदेशबाट संकलन हुने राजश्व शून्यमा झार्ने अभियान थालेको प्रदेश ट्राफिक प्रमुख रजौरेले बताए। उनले सवारी धनी र चालकहरूले ट्राफिक नियम नमिचेको खण्डमा दुर्घटना कम हुने भन्दै कारबाही गरी जरीवाना गर्ने वातावरण सिर्जना नर्गन सबैलाई आग्रह गरे।

सुदूरपश्चिम प्रदेशबाट मात्रै आर्थिक वर्ष २०७२–७३ मा २ करोड १३ लाख, २०७३–७४ मा २ करोड ७५ लाख, २०७४–७५ मा ३ करोड ३० लाख र चालू आर्थिक वर्षको फागुनसम्म २ करोड ४५ लाख बराबर राजश्व संकलन भएको तथ्यांक छ। चालू आर्थिक वर्षको आठ महिनामा ४१ हजार ७ सय ९२ सवारी साधन कारबाहीमा परिसकेका छन्। सुदूरपश्चिम प्रदेशमा अझै पनि थुप्रै यातायात व्यवसायी समिति अस्तित्वमा रहेका छन्। हालका दिनमा पनि यिनै बस व्यवसायी समितिमार्फत लामो तथा छोटो दुरीका सवारी साधन चल्ने गरेका छन्। 

बढी दुर्घटना हुने स्थान

सुदूरपश्चिम प्रदेशको अत्याधिक दुर्घटना हुने स्थानमा कैलालीको रातो पुल, चटकपुर, बोराडाँडी, राजपुर, गोदावरी, श्रीपुर, लालपुर, स्याउले बजार, चौंकीडाँडा, गेटा, मनहरा पुल, खानीडाँडा बजार क्षेत्र, सहजपुर मोड, बेलादेबीपुर, बनबेहडा, मुढा बजार, बलिया, भल्का, बलचौर, चिसापानी, दुर्गौली पुल, भगरैया, पहलवानपुर बजार रहेका छन्।

त्यस्तै कञ्चनपुरका भिमदत्त नगरपालिका–सुकासाल, ऐठपुर, भाँसीचोक, सुडा, सिसैया, अर्जुनी जंगल, कृष्णपुर–२ बनहरा पुल, मछली टोल, गजरौला, बंक, बनदेवी क्षेत्र, डडेल्धुरको अमरगढी नगरपालिका–१० राईको मोड, पोखरा बजार क्षेत्र, चालिसे मोड, गणेशपुर–९ चमसाल खण्ड, कैलपालमाण्डौ–१ कोरालखोला, असीग्राम–३ छब्बीसेमोड र साउखर्क छन्।

यस्तै डोटीको खिरसैन–३ शान्तिनगर, काँडामाण्डौ–२ चौखुट्टे, छतिबन– ९ रुबसकाँडा खण्ड, घण्टेश्वर– १ गैरा बजार, मुडेगाउ –२ कालागाँड, पचनाली –२ रामपुर सडकखण्ड, दिसिनपा– १ सिलगढीदेखि दिपायलसम्मको ओरालो रहेका छन्। 

बैतडीको श्रीकेदार–१ बसाली, खमतोला, द.न.पा.–८ मौरा, देहीमाण्डौ ७ कठपाते, शिखरपुर –३ ढोल्यामोड, सिद्घेश्वर–८ अनारखोली, धर्मघर, अछामको मार्कु– ६, जाल्पादेबी–३ श्रीकोट, बर्दादेबी– ७, जयगढ ओरालो, बझाङको सुनकुडा –७ रुपैल, मालुमेला ६, बाजुराको बाह्रबिसे–९, दार्चुलाको किमतोडी–५ (धाप खण्ड), ग्वानी–७ बगौरा क्षेत्रमा बढी सवारी दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्