सामाजिक सञ्जालमा २०७४ सालको प्रश्नपत्र राखेर विद्यार्थी झुक्याइँदै



जनकपुरधाम : देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) भइरहेका बेला प्रदेश नम्बर २ मा भने दुई दिनको परीक्षा स्थगित भएपछि विद्यार्थी तनाबमा परेका छन्। दुई विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द भएको हो।

परीक्षा स्थगितले विद्यार्थीहरू तनावमा रहेकै बेला समाजिक सञ्जालमा शनिबार हुने अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा विषयको पनि प्रश्नपत्र बाहिरिएको हल्ला फैलाएर भ्रममा पार्ने काम भइरहेको द नेपालटपले फेला पारेको छ। सामाजिक सञ्चालमा २०७४ सालको प्रश्नपत्र राखेर विद्यार्थीलाई त्रसित पारेको पाइएको छ। सो प्रश्नपत्रमा माथिल्लो भागको वर्ष काटिएको फोटो राखिएको छ।

शनिबार हुने परीक्षा पनि रद्द गराउने मनसायले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा पुरानो प्रश्नपत्रको फोटो राखेर प्रश्नपत्र आउट भएको भन्ने हल्ला फैलाएको दुवै प्रश्नपत्र मिलाउँदा देखिएको छ।

विद्यार्थीलाई त्रसित बनाउने कार्य गर्नेहरूलाई छानबिन गरी कडा कारबाही गर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताएका छन्। उनले संघीय सरकारद्वारा परिचालित केही व्यक्तिहरूले नै प्रदेश सरकारलाई बदनाम गराउने उद्देश्यले गत दुई दिनदेखि प्रश्नपत्र बाहिरिएर पुनः पुरानो प्रश्नपत्र राखेर विद्यार्थीलाई त्रसित बनाउने कार्य गरेको आरोप लगाए। 

प्रतिक्रिया दिनुहोस्