सहिद कप क्रिकेट : कानपुर र पटना विजयी



जनकपुरधाम : जनकपुरमा जारी तेस्रो सहिद कप टी–२० क्रिकेटमा शुक्रबार दुई खेल सम्पन्न भएका छन्। जनकपुरको रंगभूमि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा भारतको सोननेट क्रिकेट क्लब कानपुरले युनाइटेड क्रिकेट क्लब वीरगन्जलाई ३८ रनले पराजित गरेको छ।

कानपुरले दिएको १०० रनको सामान्य लक्ष्य पछ्याएको वीरगन्जले १४.५ ओभरमा अलआउट हुँदै ६१ रनमात्र बनाउँन सक्यो। वीरगन्जका लागि हासिम अन्सारीले २७ बलमा २५ र फइजल साहले १७ बलमा ११ रन बनाए। कानपुरका तर्फबाट जिम्मी चकले ४, अमन तिवारीले ३, मोहमद वाजिदले २ र शिवम दिक्षितले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कानपुरले १८ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो। कानपुरका लागि जिम्मी चकले ३९ बलमा सर्वाधिक ५१ रन बनाए। त्यस्तै शिवम दिक्षितले १९ बलमा १८ रनको योगदान दिए।

आजै सम्पन्न दोस्रो खेलमा भारतको राजेश क्रिकेट एकेडमी पटनाले विराट क्रिकेट सोसाइटी विराटनगरलाई ३ विकेटले पराजित गर्यो। विराटनगरले दिएको १ सय ८ रनको लक्ष्य पटनाले १९.१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। पटनाका लागि सलोक कुमारले ३४ बलमा ४२ र कुमार उत्कर्षले ३४ बलमा २३ रनको योगदान दिए। बलिङतर्फ विराटनगरका बिरबल सिंहले २ तथा श्रवन यादव र मनोज मण्डलले सम्मान १–१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा अलआउट हुँदै १ सय ७ रन बनाएको थियो। विराटनगरका लागि मुकुन्द यादवले १८ बलमा २६, फिर्रोज अन्सारीले २१ बलमा २२ र विशाल शास्त्रीले २२ बलम २० रन बनाए।

पटनाका राजेश दुब्बेले ३ तथा शशी शेखर, अविशेक कुमार झा र अभिनभ राजले समान २–२ विकेट लिए। आठ टिमको सहभागिता रहेको प्रतियोगितामासमूह ‘ए’ मा आयोजक टिम जनकपुर र समूह ‘बी’ मा विराटनगर शीर्ष स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्