आईपीएलः वार्नरको शानदार प्रदर्शन, सनराइजर्सको पहिलो जित



काठमाडाैंः इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरवादले पहिलो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित दर्ता गरेको हो ।

हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १९९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै जोनी बैरस्टोले ४५ तथा विजय शंकरले ३५ रन बनाए । युसुफ पठान १६ तथा राशिद खान १५ रनमा अविजित रहे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै १०२ रनको शतकीय पारी खेलेका थिए । सामसनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको शतक पहिलो शतक हो । यस्तै कप्तान अजिंक्या रहाणेले ७० रनको अर्धशतकीय इनिङ्स खेले । जोस बटलर ५ रनमा आउट हुँदा बेन स्टोक्स १६ रनमा अविजित रहे ।

हैदरवादका राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए । जितसंगै हैदरवादले २ खेलबाट २ अंक जोडेको छ । हैदरवाद लिगको चौथो स्थानमा छ । राजस्थानले भने लगातार दोस्रो हार व्यहोरेको छ । राजस्थान लिगको पुछारमा रहेको छ । यसअघि राजस्थानले किंग्स ११ पन्जावसँग पराजय ब्यहोरेको थियो । हैदराबाद भने पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्