‘निर्मला पन्तकाे हत्यारालाई कारबाही गरे अहिलेकाे सरकार ढल्छ’



भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कञ्चनपुरकी किशाेरी निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारबाही गरिए वर्तमान ओली सरकार ढल्ने दाबी गरेका छन्। पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा रहेको उनको दाबी थियो।

 

भक्तपुरमा दुई दिन भएको ३८ औं नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) लाई सोमबार सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले यस्ताे बताएका हुन् । 

 

अध्यक्ष बिजुक्छेले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट माओवादी जनयुद्धका सहयोगी भएका आशंकासमेत व्यक्त गरेका छन् । उनले त्यही भएर पन्तकाे बलात्कार र हत्याका मुख्य दोषी विष्टलाई कारबाही गर्न ओली सरकारले अाँट नगरेको बताएका छन् ।

 

अध्यक्ष बिजुक्छेले भने, 'त्यसैले ओली सरकार उनलाई कारबाही गर्न डराइरहेको छ।' उनलाई कारबाही अघि बढाउने बित्तिकै तत्कालीन माओवादी केन्द्र सरकारबाट बाहिरिने सम्भावना छ । 'एसपी विष्टलाई कारबाही गर्नेबित्तिकै प्रचण्ड सरकारबाहिर जानेछन्, अध्यक्ष बिजुक्छेले थपे, 'अनि ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनेछ। त्यसमा कांग्रेस र मधेसवादी दलहरुले पनि समर्थन गर्ने निश्चित छ। त्यसैले केपी ओली एसपी विष्टलाई कारबाही गर्न तयार छैन।'

 

उनले निर्मला पन्तका साथी भनिएका बम दिदीबहिनीलाई समेत प्रण्ड र ओलीले आडभरोषा दिँदै आएको बताए। 'प्रचण्डको फोटो बम दिदीबहिनीसँग खिचिएको छ, उनले भने, 'यदि यो फोटो निर्मलाको बलात्कार र हत्यापछिको हो भने यसमा प्रचण्ड र ओली दोषी हुनेछन्।'

 

अध्यक्ष बिजुक्छेले निर्मला बलात्कार र हत्या घटनाको सुरुदेखि नै प्रमाणहरु नष्ट गर्ने र अनुसन्धान नगर्ने एसपी विष्टदेखि सबै सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाएर सर्वस्वसहित जन्मकैद गर्नुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्