आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक



काठमाडौं : आगामी वैशाख ५ गतेदेखि प्रदेश नम्बर ५ मा आयोजना हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले शनिबार जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । 

त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ । वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । 

बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । 

प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन आगाम वैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा र समापन पनि वैशाख ११ गते सोही रङ्गशालामा गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्