प्रदेश २ सरकारलार्इ ओभरटेक नगर्न प्रचण्डको चेतावनी



जनकपुरधाम : पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मगलबार जनकपुरमा आयोजित पार्टी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का सरकारलाई एेन बनाउँदा संघीय सरकारलार्इ मुख्यमन्त्री राउतलाई ओभरटेक नगर्न चेतावनी दिएका छन् । 

 

नेकपा प्रदेश २ ले जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान र प्रदेश पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले मुख्यमन्त्री राउतलाई यस्तो चेतावनी दिनुभएको हो ।

 

कार्यक्रममा मुख्यमन्त्री राउतले सम्बोधनको क्रममा प्रदेश २ सरकारलाई संघीय सरकारले असहयोग गरिरहेकाले करारमै भए पनि ५ हजार कर्मचारी भर्ना गर्न करार भर्ना कर्मचारी ऐन पास गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्रचण्डले केही दिनअघि प्रदेश २ सरकारले संघीय सरकारलाई उछिन्ने गरी ल्याएको प्रदेश प्रहरी ऐन र मुख्यमन्त्रीको भनाईप्रति चेतावनी दिँदै भने, ‘मुख्यमन्त्रीज्यू, तपार्इँ ओभरटेक गर्न चाहनुभयो भने  दुर्घटनाको खतरा हुन्छ । म तपार्इँको मागप्रति गम्भीर छु । संवेदनशील छु । तर ओभरटेक नगर्नुस् ।’

 

राष्ट्रिय एकताले मात्र मधेशी जनताको समृद्धि, विकास, सम्मान, अधिकार र पहिचान स्थापित हुने भन्दै प्रचण्डले विखण्ड र अतिवादले देश बर्बाद मात्र हुने तर्क गरे । उनले भने, ‘दुर्घटना हुने गरी अगाडि नबढौँ, दुर्घटना हुने गरी अगाडि बढ्नु बुद्धिमता होइन, मुर्खता हो ।’

 

उनले यहाँका लागि सिँचाइ, रेल, हवाई मैदानजस्ता विषयमा सरकारले गम्भीर भएर सोच्दै आएकाले हतार नगर्न सबैमा आग्रह गरे। 

 

विगतको इतिहास हेर्दा प्रदेश नं २ बाट विभिन्न किसिमको परिवर्तनकारी आन्दोलनको समयमा उचित नेतृत्वदायी भूमिका निर्वाह गरिएकाले आफू पहिलोपटक प्रधानमन्त्री भएदेखि नै यस क्षेत्रको विकासका लागि सोच्दै आएको अध्यक्ष दाहालले धारणा राखे । 

 

अध्यक्ष प्रचण्डले पार्टी एकतापछि देश नयाँ युगमा प्रवेश गरेको बताउँदै अहिलेको आवश्यकता भनेको समृद्धि, विकास समाजवादी क्रान्ति भएकोले पाइसकेको अधिकारलाई संस्थागत गर्दै संविधानलाई परिमार्जन गर्दै विकासको दिशामा अगाडि बढनुपर्नेमा जोड दिए। उनले प्रदेश २ लाई सरकारले विशेष ध्यान दिएको र अबको एक दशकमा नयाँ गतिसहित समृद्ध हुने बताए। 

 

उनले सिके राउततर्फ ईङिकत गर्दै देशलाई विखण्डनको पछि नलग्न, अतिवादको पछि नलाग्नसमेत आग्रह गरे।  नेकपाका महासचिव विष्णु पौडेलले मुख्यमन्त्री राउततर्फ ईङिकत गर्दै संघीय सरकारतर्फ फर्किएर गाली गर्नुभन्दा विकास र समृद्धि तर्फ ध्यान दिन आवश्यक रहेको बताए। उनले भने, संघीय सरकारलाई गाली हुँदैन्। बरू विकास र समृद्धिको मुद्दालाई अगाडि बढाउनुस् । 

 

संघीय सरकारलाई प्रदेश सरकारले र प्रदेश सरकारलाई स्थानीय सरकारले गाली गर्नुभन्दा एक अर्काको पूरक भएर काम गर्नुस्। एकले अर्कोलाई दुश्मन सम्झनुभन्दा देशमो रहेको व्याप्त गरिबी, अशिक्षा तथा संघर्षको निमित्त लडाइँ गर्नुस्।’ महासचिव पौडेलले प्रदेश सरकारसंग मिलेर देश विकास गर्ने भएकोले एक अर्कासंग मिलेर विकास गर्नुपर्नेमा जोड दिए। 

 

उनले प्रदेश सरकार शत्रु संघ सरकार र प्रदेश सरकार शत्रु संघ सरकार नभएको बताउँदै यस प्रदेशको मुख्य शत्रु गरिबी, पछौटेपन, अशिक्षा अज्ञानता  र अविकास भएको बताए।

 

 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव विष्णु पौडेलले मुख्यमन्त्री राउतलाई इंगित गर्दै संघीय सरकारलाई गाली गर्नुभन्दा विकास र समृद्धिका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए । संघीय सरकार र प्रदेश सरकार एकअर्काको शत्रु नभई मित्रवत व्यवहार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘प्रदेश २ को शत्रु भनेको यहाँको गरिबी हो, अशिक्षा हो , अज्ञानता हो, अविकास हो । यी कुराहरुसँग लड्न एक भएर अघि बढौँ ।’

 

यस्तै कार्यक्रममा विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संघीयताको मुख्य पाटो संघ, प्रदेश र स्थानीय तह भएकाले तीनै तहको सफल कार्यान्वयनको लागि दुई तिहाईको सरकार निर्माण भएको बताए । १२ सय शिक्षकको विज्ञापनमा १ लाख २० हजारले आवेदन भरेको तथा शिक्षा संकायको उत्पादित जनशक्ति धेरै भएकाले शिक्षा संकायको अध्ययन अध्यापन बन्द गराउन अघि बढेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्