मकवानपुर गोल्डकपको उपाधि आयोजकको पोल्टामा 



मकवानपुर : हेटौंडामा सम्पन्न दोस्रो मकवानपुर गोल्डकपको उपाधि आयोजक मकवानपुर–११ ले हात पारेको छ। शनिबार हेटौंडा १० स्थित वन विज्ञान संस्थानको चौरमा सम्पन्न फाइनलमा क्यामरुनको दाउफिन्स एफसीलाई २–१ ले पराजित गर्दै मकवानपुरले उपाधि कब्जा गरेको हो।

मकवानपुरको जितमा योगेश गुरुङले दुवै गोल गरेका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्। पराजित दाउफिन्सका यानिक आवानाले पहिलो हाफको पाँचौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसपछि सम्हालिन नसक्दा पराजित हुन पुग्यो। मोफसलका चार वटा राष्ट्रिय प्रतियोगिताको उपाधि कब्जा गरेको दाउफिन्स हेटौंडामा भने घरेलु टोलीसँग स्तब्ध भयो।

उपाधिसँगै मकवानपुरले नगद आठ लाखका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता दाफिन्सले नगद चार लाख, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मकवानपुरका कप्तान एवं गोलरक्षक अशोक बरालले नगद ७५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे। साथै उनले उत्कृष्ट गोरक्षकको उपाधिसहित २० हजार रुपैयाँसमेत हात पारे।

प्रतियोगितामा दाउफिन्सका ओको बोटा उत्कृष्ट डिफेन्डर, मकवानपुरका योगेश गुरुङ उत्कृष्ट मिडफिल्डर, मकवानपुरका रेजिन सुब्बा उत्कृष्ट फरवार्ड र मकवानपुरकै बिजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही नगद २० हजार रुपैयाँ पाउन सफल भए। 

प्रतिक्रिया दिनुहोस्