सरकार मधेस मैत्री छ : मन्त्री महासेठ



जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले वर्तमान सरकार मधेसमैत्री भएको दाबी गरेका छन्। वर्तमान दुई तिहाई बहुमत प्राप्त सरकारले अहिले पर्याप्त समय ऐन तथा कानुन निर्माणमा दिइरहेकोले तत्कालै विकासको काम नदेखिए पनि दीर्घकालीन रुपमा उत्कृष्ठ काम गर्न लागि परेको बताएका हुन्।

 

 नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ को प्रदेशस्तरीय शुभकामना आदन प्रदान तथा पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै मन्त्री महासेठले देशभरिमा ६ हजारदेखि ८ हजार सडकको माध्यमबाट प्रत्येक गाउँलाई सदरमुकाम र सदरमुकामलाई प्रदेश राजधानीसम्म जोड्ने अभियानको थालनी गरिएको बताए।

 

 उनले अबको केही दिनमै प्रदेश २ को सिंचाइ आयोजनाअन्तर्गत सनकोशी र कमला डाइभर्सनको समुद्घाटन हुने भएको समेत जानकारी गराए।

 

 विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रकृतिसँग जोडिएर कृषि निर्माणमा आधारित विभिन्न सांस्कृति चाडपर्वको शुभकामना दिदै देशको जनतालाई अनेकतामा एकता प्रदान गर्ने सूत्र चाडपर्व भएको बताए।

 

 उनले देशको मुख्य राजनीतिक प्रणाली संघ, प्रदेश र स्थानीय तहको कार्यान्वयन मुख्य चुनौती भएकोले दुई तिहाइको सरकार त्यसको कार्यान्वयनमा लागेको बताए।

 

प्रतिक्रिया दिनुहोस्