अन्तर्राष्ट्रिय उडान संख्या बढ्ने, नेपाली श्रमिक पुर्‍याउने कम्पनीलाई अनुमति दिइने



काठमाडौँ : सरकारले श्रम गन्तव्य मुलुकबाट नेपाली कामदारलाई ल्याउनका लागि अन्तर्राष्ट्रिय उडान थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोनाबाट रोजगारी गुमाएका नेपालीलाई स्वदेश आउन सहज होस् भनेर त्यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कामदारलाई काठमाडौं पुर्‍याउन चाहने कम्पनीलाई उडानको अनुमति दिने पनि निर्णय गरेको छ ।

सीसीएमसीले अन्तर्राष्ट्रिय उडानमा कोटा प्रणाली लागू गरेको थियो । त्यसपछि श्रमिक र खाडीलगायत मुलुकका राजदूतहरूले आपत्ति जनाएका थिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय उडान थप्नुपर्ने भन्दै एकश्वर गरेका थिए । ती मन्त्रीका अनुसार ज्ञवाली, भट्टराई र यादवले सीसीएमसीले लगाएको कोटा प्रणालीको चौतर्फी विरोध भएको र त्यसरी गर्ने भए अलपत्र कामदारको उद्दारमा ढिलाइ हुने बताएका थिए ।

‘अब अन्तर्राष्ट्रिय उडान संख्या बढ्ने भयो । अनिवार्य पीसीआर परीक्षण हुने मुलुकका लागि अन्तर्राष्ट्रिय उडान बढाइनेछ,’ ती मन्त्रीले भने, ‘जुन कम्पनीले आफूले सबै खर्च (टीकट, पीसीआर, र काठमाडौंको क्वारेन्टाइन खर्च) बेहोर्ने भनेर नेपाली कामदार पठाउने भन्छ उसका हकमा त्यो खुला गरिदिने निर्णय भएको छ ।’

यसरी अन्तर्राष्ट्रिय उडान थपिँदा र नेपाली श्रमिकलाई कम्पनीले नै कामठमाडौं पुर्‍याउने भएपछि टिकटको मूल्य घट्नेछ ।

वैदेशिक रोजगारीमा गएर कोरोनाका कारण समस्यामा परेका श्रमिकलाई घर फर्किनका लागि सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या न्यून राखेको भन्दै विभिन्न देशका राजदूतले असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूले संसदीय समितिको बैठकमा आक्रोश व्यक्त गरेका थिए । कान्तिपुर दैनिकमा जयसिंह महराले लेखेका छन् ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्