डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद



महोत्तरी : महोत्तरी प्रहरीले आज बिहान सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको हो ।

वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले मटर बरामद गरेको छ । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् । त्यस्तै प्रहरीले जलेश्वर नगरपालिका–५ पर्सापतैली गाउँबाट पाँच कार्टुन भारतीय चुरा बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैधरूपमा नेपाल भित्र्याएको अवस्थामा प्रहरीले ती चुरा बरामद गरेको जनाइएको छ । प्रहरीले बरामद गरेको मटर र चुरा आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्