कोरोना संक्रमितले पाउँदैछन् जीवनदान



बुटवल : डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते उहाँ आफैँ पनि सङ्क्रमित हुनुभयो । यो खबर उहाँको परिवार, स्थानीय समाज र अस्पतालका लागि अप्रत्याशित थियो तर उहाँ विचलित हुनुभएन ।

डा. बञ्जाडेको अहिलेको दैनिकी बिरामीको उपचार सँगसँगै आफ्नो अनुभव बाँड्ने, मनोबल बढाउने र सङ्क्रमितको ज्यान जोगाउने नयाँ अभियानमा केन्द्रित छ । उहाँको पछिल्लो अभियान हो, सङ्क्रमितको प्लाज्मा थेरापी उपचारका लागि सङ्क्रमित भई निको भएकाको रगत सङ्कलन ।

सोमबार कपिलवस्तु अस्पतालमा त्यस्तै गजबको माहौल थियो । डा. बञ्जाडेसहित अस्पतालका १६ जना पूर्वसङ्क्रमित स्वास्थ्यकर्मीले रक्तदान गर्नुभयो । यस्तो रक्तदान सङ्क्रमितहरूको ज्यान जोगाउने एउटा नयाँ उपचार विधि प्लाज्मा थेरापीका लागि थियो । “धेरै मानिस सङ्क्रमणबाट छट्पटिइरहेका बेला जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो,” डा। बञ्जाडेले भन्नुभयो, “पूर्वसङ्क्रमितको रगतले कसैको ज्यान बच्छ भने हामी किन अघि नसर्ने ?”

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा. साजन श्रेष्ठलाई पनि बिरामीको उपचार गर्दागर्दै सङ्क्रमण भयो । सङ्क्रमणमुक्त भएलगत्तै उहाँले कोरोना सङ्क्रमित रुपन्देहीकी एक गम्भीर बिरामीको प्लाज्मा थेरापीका लागि रगत दिनुभयो । प्रदेश ५ मा यो नै पहिलो अभ्यास थियो, प्लाज्मा रक्तदान र प्लाज्मा थेरापीको ।

अर्का साहसी चिकित्सकको नाम हो– उमाशङ्करप्रसाद चौधरी । प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. चौधरीको दैनिकी कोरोनाविरुद्ध सचेतना र सूचना प्रवाहमा बित्छ । दिनहुँ प्रदेश सरकारका तर्फबाट कोरोनाबारे आधिकारिक सूचना बाँड्ने उहाँ पनि सङ्क्रमित हुनुभयो । आइसोलेसनमा उपचाररत उहाँले अहिले अरू सङ्क्रमितलाई उच्च मनोबलका सन्देश प्रवाह गर्नुहुन्छ ।

लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवलमा सञ्चालित कोरोना अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापा रातदिन बिरामीको सेवामा खटिनुहुन्छ । प्रदेशको पहिलो कोरोना अस्पतालमा उहाँको दैनिकी पनि जोखिमविरुद्ध केन्द्रित छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्