बिरामी बोकेको एम्बुलेन्स चितवनमा दुर्घटना हुँदा ५ घाइते, एकको अवस्था गम्भीर



काठमाडौं : बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।

काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर रहेका छन् ।

घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्