रक्सी खाएर सर्वसाधारण कुट्ने वडाध्यक्षमाथि मुद्दा दर्ता



ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।

 

रक्सी खाएर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवालाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।

 

शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना, स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारबाही गर्नुपरेको प्रहरीले जनाएको छ । 

 

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्