रेलमार्ग निमार्णको ठेक्कामा सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गर्यो : रामचन्द्र पौडेल



काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा–इनरुवा रेलमार्ग निमार्णको ठेक्का हचुवाका भरमा दिइएको बताएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले बिना प्रतिस्पर्धा ठेक्का दिइएको भन्दै संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत न्यायिक निकायहरुलाई छानबिन गर्न माग समेत गरेका छन् ।

‘काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रूपमै विभिन्न कुराहरु बाहिर आएका छन् । परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभई सार्वजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत छ,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित रहेको बताउँदै उनले भनेका छन्– ‘रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत छ ।’

पौडेलले रेलमार्ग निर्माणको जिम्मा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको बताएका छन् ।

‘आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नु अनुचित हो । राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्नबाट जोगाउन तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत न्यायिक निकायको जोडदार ध्यानाकर्षण गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्