जनकपुर, वीरगन्ज, कानपुर र दरभंगा सेमिफाइनलमा 



जनकपुर : जनकपुरमा जारी तेस्रो सहिद कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा वीरगन्जको युनाइटेड क्रिकेट क्लबले भारत बिहारको पटनास्थित राजेश एकेडेमी टिमलाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार टस जितेर ब्याटिङ रोजेको पटनाले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। पटनाका स्लोक कुमारले ४७ बलमा सर्वाधिक ४३ रन बनाएका थिए। उनीबाहेक पटनाका अन्य ब्याटस्म्यान वीरगन्जका हसिम अन्सारीको आक्रामक बलिङसामु निरीह भए।

हसिम ३ दशमलव ४ ओभरमा जम्मा १७ रन खर्चेर ५ विकेट लिन सफल भएका थिए। १ सय २० रनको लक्ष्य पछ्याएको वीरगन्जले १४ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेर जित हात पारेको थियो। वीरगन्जका राजा सिंहले ३१, सुराज पटेल २०, सैफुल्लाह अन्सारी २५ र फैजल शाहले ५ रनको योगदान दिए। अन्सारी र शाह नटआउट रहे।

५ विकेट लिन सफल भएका वीरगन्जका हसिम म्यान अफ द म्याच भए। स्थानीय बाह्रबिघाको रंगभूमि मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोली सहभागी छन्। 

सोमबार पहिलो सेमिफाइनलमा आयोजक जनकपुर क्रिकेट क्लब र युनाइटेड क्रिकेट क्लब वीरगन्ज भिड्नेछन्। दोस्रो सेमिफाइनल सोनेट क्रिकेट क्लब कानपुर र राजपुताना रेजिमेन्ट दरभंगाबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो सेमिफाइनलमा खेल्ने दुवै टोली भारतका हुन्। प्रतियोगिताबाट काठमाडौं, विराटनगर र कलैया बाहिरिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्