युभेन्टसकाे म्याचेस्टर युनाइटेडमाथि राेमाञ्चक जित



काठमाडाैं : इटालियन महारथी युभेन्टसले यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

 

 

युभेन्टसले युनाइटेडलाई उसकै मैदान ओल्ड ट्राफर्डमा १–० ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युभेन्टसलाई जिताउन अर्जेन्टाइन पाउलो डिबाला निर्णायक गोल गरे । क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असमर्थ रहे ।

 

प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले १७औं मिनेटमा नै खेलमा अग्रता लिन सफल भएको थियो । रोनाल्डोको क्रस पासमा जुवान क्वाडराडोले उपलब्ध गराएको पासलाई डिबालाले सदुपयोग गरेका थिए ।

 

पहिलो हाफमा घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले गोलका केही मौका खेर फालेको थियो । २२औं मिनेटमा क्यानसिलोको प्रहार युनाइटेडका गोलरक्षक डेभिड डे हेयाले बचाएका थिए । ३०औं मिनेटमा प्यानिचको प्रहार आकासिएको थियो ।

 

३८औं मिनटमा करिव ३० यार्डबाट रोनाल्डोले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक डेभिडले मुस्किलले बचाएका थिए । लगत्तै जुवानको प्रहारलाई पनि जियाले विफल पारिदिएका थिए ।

 

पहिलो हाफमा पुरै युभेन्टसको दवावमा खेलेको युनाइटेडले दोस्रो हाफमा सुधारिएको खेल पस्किएपनि गोल गर्न सकेन । ५२औं मिनेटमा युनाइटेडका डेभिड डे हेयाले अर्काे सुन्दर बचाउ गर्दै संकट टारेका थिए ।

 

७५औं मिनेटमा पल पोग्वाको प्रहार बारमा लागेर फर्कदा युनाइटेडले बराबरी गोल गर्नबाट चुक्यो । ८३औं मिनेटमा मार्सियलले गोलको मौका खेर फाले । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड घरेलु मैदानमा १–० ले पराजित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्