सहिद कप क्रिकेट :  उपाधिका लागि जनकपुर र कानपुर भिड्ने



जनकपुरधाम : जनकपुरमा जारी सहिद कप टी–२० क्रिकेटको उपाधिका लागि जनकपुर र भारतको सोननेट क्रिकेट क्लब कानपुर भिड्ने भएका छन्। रंगभूमि क्रिकेट मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दरभंगा क्रिकेट क्लबलाई १२ रनले पराजित गर्दै सोननेट क्रिकेट क्लब कानपुरले उपाधिका लागि जनकपुरलाई प्रतिद्वन्द्वी पाएको हो। यसअघि आजै सम्पन्न पहिलो खेलमा वीरगन्जलाई ७ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। 

कानपुरले दिएको १०३ रनको लक्ष्य पछ्याएको दरभंगा १७.५ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियो। दरभंगाका लागि आशु कन्डोल सर्वाधिक २६ रनको योगदान दिए। ३२ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै रजनीश गौरवले २५ बलमा १९ र रानीव कुमारले १० बलमा १० रन बनाए। अन्य खेलाडीको प्रलर्शन भने सम्झनलायक बन्न सकेन। बलिङतर्फ कानपुरका शिवम दीक्षितले ३.५ ओवरमा १६ रन दिएर ३ विकेट लिए। त्यस्तै एम डी सुफियान खानले र एम डी वाशिदले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कानपुरले पूरै ओभर खेल्दै १०२ रन बनाएको थियो। कानपुरका लागि जिमी चकले ३३ बलमा २ चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए। त्यस्तै सौरभ सिंहले २३ बलमा १४, एम डी वशीदले २२ बलमा १३ रन र मोहम्मद सुफियान खानले १० बलमा ११ रनको योगदान दिए। खेलमा कानपुरका शिवम दीक्षित ‘म्यान अफ दि म्याच’ घोषित भए। फाइनल खेल मंगलबार हुनेछ। 

प्रतिक्रिया दिनुहोस्