ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट



काठमाडौंः ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा युवाहरुले एक जना ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेका छन् ।

(कोभिड-१९) को महामारीकाबीच ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरिएको हो ।

लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो ।

त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ ।

केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गर्न लगेको देखिएको छ । महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजीकार्य भइरहेको बताए । महामारीविरुद्धको प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटक पटक दुर्व्यहार हुने गरेको छ ।

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्