पैसा चाेरेकाे भन्दै हाेटल सञ्चालकले नाबालककाे हातै भाँचिदिए



दैलेख : दुल्लु नगरपालिका–३ सियालामा रहेको सागर होटेल सञ्चालकले पैसा चोरेको आरोपमा होटेलमा श्रमिकका रूपमा कार्यरत १२ वर्षीय बालकको हात भाँचिदिएका छन् ।

 

होटेलमा बालश्रमिकका रूपमा कार्यरत १२ वर्षीय प्रकाश बुढाथोकीको होटेल मालिक्नी शान्ति शाहीले दाउराले हानेर हात भाँचिदिएको स्थानीयले बताएका छन् ।

 

सल्यानको दार्मा गाउँपालिका–६ घर भएका बालक शाहीले दसैँमा घर जान साहुसँग काम गरेको ज्याला मागेका थिए । आफूले कमाएर राख्न दिएको १५ सय रुपैयाँसमेत साहुनीले नदिएपछि उनी दसैँमा पनि घर जान पाएका थिएनन् ।

 

पछि बालकले १५ सय चोरेको आरोपमा होटेल साहुनी शान्तिले बालकको हात टेबुलमा राखेर दाउराले हानेर भाँचिदिएको स्थानीयको भनाइ छ । दाउराले हान्दा बालकको देब्रे हातको नाडी भाँचिएको छ ।

 

हात भाँचिदिएपछि शान्तिले बालकलाई गलहत्याएर होटेलबाट निकालेको स्थानीयले बताएका छन् । हात भाँचिदिएपछि बालकको उपचार गर्न होटेल सञ्चालक शान्तिलाई आग्रह गर्दा उनले वास्ता गरेकी छैनन् ।

 

घटनाका विषयमा खबर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महतले बताए । घटनाको १८ दिनपछि मात्र साहुनीले बालकको हात भाँचिदिएको सार्वजनिक भएको छ । स्थानीय प्रहरीले पीडितको उद्धार नगरेको अधिकारकर्मीले बताएका छन् ।

 

१८ दिनपछि स्थानीयले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।

 

अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्