प्रदेशको आफ्नै प्रहरी चाँडै : मुख्यमन्त्री राउत



रौतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीको शान्तिसुरक्षाका लागि प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले आफ्नै शासन र आफ्नै प्रशासन नहुँदा प्रदेशवासीको भावनाअनुसार काम गर्न नसकेको बताउँदै उनले चाँडै प्रदेशको आफ्नै प्रहरी हुने बताए ।

प्रदेश प्रहरी गठनका लागि कानुन अन्तिम चरणमा रहेको बताउँदै उनले कानुन आउनेबितिकै प्रदेशको आफ्नै प्रहरी हुने उल्लेख गरे । प्रदेशवासीको चाहना र भावनाबमोजिम प्रदेश सरकार काम गरिरहेकोसमेत उनले उल्लेख गरे ।

संघीय सरकार प्रदेश २ प्रति विभेदकारी नीति अपनाएको समेत उनले आरोप लगाए । पुजारीजस्तो सामान्य र सन्यासी जीवन बिताउने व्यक्तिको हत्या हुनु दुःखद भएको बताउँदै उनले हत्याका आरोपीलाई प्रचलित कानुनअनुसार कारबाही हुने बताए ।

रौतहटका गत साता एक मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको थियो । उनको हत्या गरिएको स्थानमा पुगेका मुख्यमन्त्री राउतले सुरक्षाकर्मीसँग घटनाका विषयमा छलफल गरेका थिए । त्यसपछि उनले खेसरहियामा प्रहरी चौकी भवन निर्माणका लागि शिलान्याससमेत गरेका थिए । मुख्यमन्त्री राउतसँगै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, कृषि राज्यमन्त्री योगेन्द्र यादव लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्