रारामा पर्यटकीय चहलपहल सुरु, अहिलेकाे माैसम उपर्युक्त



रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मौसम मानिन्छ । हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकोले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

 

सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ । हवाई उडान नियमित र वर्षाका कारण अवरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो । 

 

काठमाडाैं, लुम्बिनी, पोखरा, बुटवल, भैरहवा, विराटनगर, भक्तपुरलगायत जिल्लाबाट आन्तरिक पर्यटक ७ दिनको प्याकेज बनाएर सडक मार्गबाटै रारा आएका छन् । असोजमा अमेरिकाबाट ६ र चीनबाट ९ जना बाह्य पर्यटक रारा भ्रमणमा आएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

 

रारामा अहिले दैनिक डेढ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । करिब दुई महिनासम्म खाली भएका रारा वरपरका होटल पर्यटकले भरिन थालेका छन् । निकुञ्जका खरिदार पृथ्वीलाल नेपालीका अनुसार कोणधारी जंगलले घेरिएको राराको छिनछिनमा फेरिने रुपले पर्यटकलाई रोमाञ्चित बनाउने गरेको छ ।

 

असला माछा र तीन सय प्रजातिका चरा पाइने रारामा अन्य वन्यजन्तुको समेत अवलोकन गर्न सकिन्छ । समुद्र सतहदेखि २९ सय २९ मिटर उचाइमा रहेको रारामा घुम्न आउने पर्यटक मुर्मा, झ्यारी, ताल्चा, माथित्मसम्म पुगेर रमाउने गरेका छन् ।

 

राति ‘क्याम्प फायर’ गरेर नाचगान गर्दै रमाउने गरेको खरिदार नेपालीले जनाए । केही पर्यटक हुटुबाट घोडा चढेर २ घण्टा टाढाको मुर्माटपमा पुग्ने गरका छन् । मुर्माटपबाट सैपाल हिमाल, छायानाथ तीर्थसँगै आसपासका सात जिल्लाको दृष्यावलोकन गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्