विप्लप समूहद्वारा सरकारसँग तत्काल वार्ता अस्वीकार



काठमाडौं : विप्लव नेतृत्वको नेकपाले सरकारले आह्वान गरेको वार्ता अस्वीकार गरेको छ । केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन गत भदौ २५ गते आह्वान गरेको थियो । तर सरकारको यो आह्वानलाई विप्लव नेतृत्वको नेकपाले अस्वीकार गरेकाे छ । 

 

विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सरकारले वार्ताका नाममा नाटक गरेको भन्दै आफूहरुले अहिलेकै अवस्थामा सरकारी प्रस्ताव स्वीकार्न नसक्ने बताए । सुदर्शनले भने, ‘यो अवस्थामा वार्ता हुँदैन । हाम्रो वार्ता गर्ने परिस्थिति पनि छैन ।’ 

 

कतिबेला परिस्थिति बन्छ र वार्ता हुन्छ त भन्ने ? प्रश्नमा ओलीले भने ‘वार्ता जतिबेला हुन्छ, त्यतिबेला हामी एउटा सन्तुलनमा आएका हुन्छौँ । दोस्रो कुरा, जसरी सरकारले वार्तावार्ता भनेको छ, यो वार्ता गर्ने तरिका नै होइन ।’ उनले एकातिर आफ्ना पार्टीका नेता कार्याकर्तालाई अपहरण शैलीमा हत्कडी लगाउने अर्कोतिर वार्ताको कुरा गर्ने सरकारी नीतिको कडा आलोचना र भत्रसना पनि गरे । 

 

उनले सरकारले भनिरहेको वार्ता अन्तैतिरका लागि भएको भन्दै सरकारले आफूहरुलाई वार्ताका नाममा नाडी छाम्न खोजेको बताए । ‘यो त हामीलाई छाम्न खोजिएको मात्रै हो, किनकि यहाँ मुद्दा चुनावका बेलाको बनाइएको छ । नेताहरुलाई देशभरि हिरासतमा राखेर कहिले कता र कहिले कता घुमाइएको छ । यो तरिकाले वार्ता हुनै सक्दैन’ ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्