आठौं राष्ट्रिय खेलकुदका लागि समिति गठन



नेपालगन्ज : आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाका विभिन्न स्थानमा हुने खेललाई भव्य रुपमा सम्पन्न गर्न समन्वय तथा सयोग समिति गठन गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा १ सय ५१ सदस्यीय समन्वय तथा सहयोग समिति निर्माण गरिएको हो ।

समितिका संयोजक कक्षपतिले ४ वटा खेलका लागि ४ वटा उपसमिति गठन गरी तयारी थालिने बताए । राष्ट्रिय खेलकुद परिषद्का अनुसार खजुरामा ज्ञानोदय नमूना माविमा बक्सिङ महिला पुरुष, शुक्र भलिबल स्टेडियममा भलिबल, शुक्र मावि सीतापुरमा हक्की महिला र डि गाउँ फुटबल मैदानमा फुटबलका केही खेल हुनेछन् ।

खजुरा गाउँपालिकामा राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल सञ्चालन हुने भएपछि त्यसको स्वागत गर्दै सोमबार खजुरामा समन्वय बैठक सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले राष्ट्रिय विभूतिका रुपमा रहेका खेलाडीको भावनाको सम्मान गर्न खजुराबासीलाई आग्रह गरे ।

खजुरामा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल शान्त र सभ्य ढंगबाट सम्पन्न हुने विश्वास व्यक्त गर्दै सदस्य सचिव बिष्टले प्रतियोगिता सम्पन्न भएसंगै नयाँ पुस्तामा खेलप्रति अझै रुची पैदा हुने बताए । उनले खेलले मानिसलाई नैतिकवान, देशभक्त बनाउने उल्लेख गर्दै राजनीतिक, सामाजिक र आर्थिक पक्षमा खेलले ठूलो पभाव पार्ने बताए ।

बैठकमा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरामा ४ खेल हुनु आफैंमा गर्वको कुरा भएको भन्दै खेल सम्पन्न गर्न तनमनले अभियानमा लाग्ने बताए । उनले खजुरा मातहत रहेका सबै सरकारी निकाय, गैरसरकारी संस्था, विद्यालय, क्लव तथा सबै खेलप्रेमीलाई आठौंको मिसनमा लाग्न निर्देशन दिए । अध्यक्ष कक्षपतिले खजुरामा ८ औं राष्ट्रिय खेलकुदका ४ खेल हुने भएकोमा अत्यन्तै खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवादसमेत व्यक्त गरे । 

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बाँकेबासी परिणाम प्राप्त गर्ने ठाउँमा पुगेको बताउँदै नेपाली खेलकुदमा नयाँ इतिहास रचिने बताए । उनले देशका विभिन्न ठाउँबाट आउने खेलाडीलाई स्वागत गर्दै शान्तिपूर्ण सभ्यताका साथ खेल सम्पन्न गर्न खजुराबासी लाग्न आग्रह गरे ।

ज्ञानोदय नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसी र शुक्र भलिबल स्टेडियम निर्माण उपभोक्ता समितिका अध्यक्ष धनीराम वलीले खेलको माध्यमबाट खजुरालाई चिनाउन आफूहरु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्