पुल्चोकको झडपमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि, घाइते भएका पनि संक्रमित



काठमाडौँ : ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि भएको छ ।महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ९ जनालाई कोरोना संक्रमण देखिएपछि बुधबार ६८ जनाको स्बाव संकलन गरिएको थियो ।

यसमध्ये प्रहरी निरीक्षकसहित १८ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको हो ।

रथ तान्ने क्रममा झडप भएपछि वृत्तका डीएसपी मित्रबन्धु शर्माको नेतृत्वमा स्वाब दिएका प्रहरीहरु झडप स्थल पुगेका थिए । ‘स्वाब नदिएका म सहितको टोली झडप नियन्त्रणतर्फ लागेँ, स्वाब दिएका इन्स्पेक्टरसहितको अरु टोली व्याक फोर्समा राखेको थिएँ । उनीहरुलाई झडपमा प्रयोग गरेनौं,’ डीएसपी शर्माले भने । उनले स्वाब दिएका टिमलाई प्रयोग नगरेको बताए पनि शुक्रबार पोजिटिभ देखिएका प्रहरी निरीक्षक भने घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो ।

‘गाडीबाट बाहिर निस्केर बस्दा प्रदर्शनकारीले ढुंगा हानेर घाइते भएको हो । झडपमा घाइते भएको होइन,’ डीएसपी शर्माले भने । कान्तिपुर दैनिकबाट

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्