सरकार ! खै सुनेको त हाम्रो दरकार ?



जनकपुरधाम: भदौ १९ गते शुक्रबार रातीको करिव ११ बजिरहेको थियो । पछिल्लो एक घण्टादेखि ओछ्यानमा कोल्टो फेरिरहेको थिएँ । खै किन हो किन निन्द्रा नै लागि रहेको थिएन । आँखा बन्द गर्ने वित्तिकै मनले कयौं प्रश्नहरु सोधिरहेको थियो । मनले मसँग अनेकौं सवाल गरिरहे पनि म भने मनको सवाल भोली कोसँग गर्ने ? मेरो प्रश्नको उत्तर कसले दिने ? मनको कुरा मन भित्रै दबाई दिउँ कि भन्ने अनेकौं दुविधाहरु भईरहेको थियो । यी र यस्ता थुप्रै प्रश्नको जवाफ खोजिरहँदा बाल्यकालमा विद्यालयमा अध्ययन गर्दाको सम्झना आयो ।

म र मेरा साथीहरु एकचोटी हाम्रो विद्यालयको एकजना शिक्षकलाई त्रिभुवन चोकको एउटा कुनामा रहेको पान पसलमा चुरोट तानिरहेको बाटोबाटै हेरेका थियौं । सरले पनि हामीलाई देखिसकेपछि बोलाउनुभयो । हामी उहाँ भएको ठाउँमा गयौं । सरले भन्नुभयो,‘हेर नानी हो म एउटा शिक्षक हुँ । तिमिहरुले मलाई चुरोट खाएको हेर्यौ । तिमिहरु मप्रति नकारात्मक हुन्छौ । तर, मैले जे गरेपनि तिमिहरु चाँही मैले भनेको कुरा मात्रै गर्नु है । मैले गरेको कुरा कहिल्यै नगर्नु ल ।’ अर्थात सरले जे भन्नुहुन्छ त्यो गर्नु तर सरले गर्नुहुन्छ त्यो काम कहिल्यै नगर्नु भन्दै उनी आफ्नो बाटो लागे ।

ठ्याक्कै त्यहि कुरा आज फेरि याद आयो, अनि मनभित्रै सोंचे हाम्रो देशमा पनि त सरकारले (तिनै तहको) हामीलाई जे भनिरहेको छ त्यति हामी गरिरहेका छौं । फेरि मनले सोध्यो, सरकारले भनेको तिमीहरु गरिरहेका छौँ तर तिम्रो सरकारले के गर्दैछ नि तिमीहरुका लागि ?

बारीको तीते यसैदिन बिते भनेझैं म र मेरो सरकार बिच तारतम्य नै मिलिरहेको थिएन । फेरि जे पर्ला त्यहि टर्ला भन्ने सोंचेर बन्दाबन्दी अर्थात लकडाउनले हामीले के पायौं र के गुमायौं भन्ने सवालमा लेख्न कम्मर कसें । अब त मेरो निन्द्रा पनि हरराइसक्यो । मैले अब मनको मैलो पोख्ने सुर कसें । सपना देख्न पनि सरकारकै अनुमति लिनुपर्ने यस देशमा मानव जिवनका लागि सबैभन्दा महत्वपूर्ण स्वास्थ्य जस्ता आधारभुत मुद्यामा सक्नेले गर्ने नसक्नेले ठाडै मर्ने स्थिती ज्यूँका त्यूँ छ है ? मन भित्र यस्ता थुप्रै प्रश्नहरुको चाङ्ग नै थियो ।

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै कोरोनाले बल्झाएको महाव्याधी एकातिर, हाम्रो सरकारको रवैया सत्ता टिकाउने रन्को अर्कोतिर । जेठो मामाको त भाँग्राको धोती कान्छो मामाको कुन गति भनेजस्तै जनता भोकले मर्ने अवस्था छ तर, सरकार भने अघाएर खानै नसक्ने अवस्थामा छ । कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटका कारण धैरै भन्दा धेरै व्यवसायमा नगद संकट आएको छ । शिक्षकहरु आर्थिक संकटबाट गुज्रिरहेका छन् । विद्यार्थी पढाईबाट वञ्चित हुनु परिरहेको छ भने अभिभावक तनावमा छन् ।

यसरी नै हामी निरन्तर लकडाउनमा रहने हो भने आर्थिक कारणले हामी माथि सिर्जना हुनसक्ने अन्य संकटहरुको जिम्मेवार को ? कोरोनाले हाम्रो प्रदेशमा अहिलेसम्म ९८ जनाको मृत्यु भइसकेको छ भने कोरोनाबाट बच्न लगाइएको निषेधाज्ञा र लकडाउनको अवधिमा आर्थिक र मानसिक तनाव सहन नसकेर २ सय ७४ जनाले आत्महत्या गरिसकेको प्रहरीको तथ्याङ्कले नै हेराउँछ । हे सरकार ! कोरोना भयावह कि लकडाउन ? त्यसमा पनि यस्तो लकडाउन जहाँ बजार दिउँसो १२ बजेसम्म खुल्ने त्यसपछि फेरि बन्द अरे ! १२ बजेसम्म कोरोना भाइरसज्यूले आराम गर्नुहुन्छ कि ?

विगत ५ महिनादेखिको ‘बन्दाबन्दी’ का कारण सबै क्षेत्र धारासायी बनिसकेको छ । हामी जनता भने कठिन अवस्था भोगिरहेका छौं । भोली सहज होला कि ! पर्सी सहज होला कि ! सोंच्दा सोंच्दै ५ महिना काटिसक्यौं । विगत लामो समयको कोरोना कहरले धनी र सम्पन्न व्यक्ति पनि अब थला पर्न थालेका छन् भने गरीबको अवस्था कस्तो होला ? एकपटक सोच्नुस त सरकार !

बिहान काम गरि बेलुकीको खानाको जोहो गर्नुपर्ने मजदूरको अवस्था कस्तो होला ? सोच्नुस त ! ति मजदूरका सन्तान अहिले भोकले छटपटिरहेका होलान् तर, त्यहि मजदूरको अमूल्य मत पाएर उसकै सेवाका लागि उसैले पठाएको ठाउँमा बसेर तपाईंका मन्त्री, सांसद, मेयर र उपमेयर ज्यूहरु भने अहिले पनि ५६ व्यञ्जन निलिरहनु भएको होला । के यहि हो जनताको सेवाका लागि जनताद्धारा निर्वाचित जनप्रतिनिधिको जनताप्रतिको कर्तव्य र दायित्व ?

हो, जनप्रतिनिधिले आफ्नो कर्तव्य र दायित्व पुरा गरेका छन् । याद छ मलाई पनि । कोरोना संक्रमणको शुरुवाती चरणमा जुनबेला देशमा संक्रमित हुनेको संख्या न्युन थियो त्यस बेला सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले क्वारेन्टिन, आइसोलेसन, स्वास्थ्य सामग्री, राहत वितरणलगायतकाहरुको नाममा करोडौं खर्च गरे । तर, अहिले संक्रमितको संख्या बढिरहेको समयमा सरकारले गर्न सकेको काम भनेको ‘लकडाउन’ बाहेक केहि होईन् ।

सरकार त अब यतिसम्म गरीब भइसके कि अब संक्रमित भइसके पश्चात तपाई भगवान भरोसे बस्नुस । सरकारले हामी केहि गर्न सक्दैनौं भनिसकेका छन् । निर्णय पनि गज्जबको गर्छन हाम्रो सरकारले है ! भर्खरै सुनेको थिएँ कि देशका सबै अस्पताललाई सरकारले कडा निर्देशन दिएको थियो कि दुई तिहाई बेड कोरोना संक्रमित बिरामीका लागि तपाईं आफ्नो अस्पतालमा राख्नुस । एउटा अस्पतालले अन्य बिरामीसँगै कोरोना संक्रमितलाई पनि राख्न थाल्यो भने भोलीको अवस्था सहज हुने हो कि झन बढि असहज ? एकचोटी सोचौं त ! सायद यस्तै खालका निर्णयहरुलाई नै अपरिपक्व निर्णयको संज्ञा दिंदा कुनै अतिश्योक्ति नहोला है ?

लकडाउन पनि कस्ता कस्ता । एउटै पालिका भित्र पनि कुनै वडाले बिहान ६ देखि ८ र अर्को वडाले ६ देखि ९ सम्म पसल खोल्न भन्छ । कतिपय स्थानमा बिहान मात्रै बजार खोल्ने निर्णय त कतिपय स्थानमा बिहान र बेलुका दुबै समयमा खोल्ने निर्णय ।

कुनै एउटा समयमा र थोरै समयका लागि मात्रै पसल खोलिएका स्थानमा उपभोक्ताको भीडभाड ह्वात्तै बढ्छ । उपभोक्तालाई प्रशासनले निर्धारण गरेको समयअवधि भित्रै दूध, तरकारी, दाल, चामल, लत्ताकपडालगायतका अन्य दैनिक उपभोग्य वस्तु किन्नुपर्दा एकातिर भ्याइनभ्याइ भएको हुन्छ । तसर्थ ‘लकडाउन’ नहटाएपनि यसको मोडालिटी परिवर्तन गर्नुपर्ने नितान्त आवश्यकता देखिन्छ । नभए संक्रमित नबढला भन्न सकिन्न ।

जनता अब मात्र सामाजिक दूरीको पालना गरि कहालीलाग्दो अवस्थामा ‘बिचरा’ जीवन जिउन सक्दैनन् । त्यसैले अब यसको निकास खोजौं । विगत ५ महिनाको लामो एवं कष्टपूर्ण यात्रासम्म आइपुग्दा अहिले पनि हामी रनभुल्लमै परेका छौं ।

के कोरोना बाहेक अन्य रोगका कारण मृत्यु हुनेहरुको कुनै मूल्य छैन ? गेटमा ताला झुण्डिएका फ्याक्ट्रीहरुमा काम गर्ने मजदूरको दैनिकी कसरी चलिरहेको होला ? सरकारी निकाय तथा संघसंस्थाले शुरुवाती चरणमै उपलब्ध गराएको राहत सामग्री अझै पनि उनको भान्सामा बाँकी नै होला त ? घरभित्रै थुनिएका करिव ६० लाख विद्यार्थीको शैक्षिक तालिका भताभुङ्ग भएन र ? दैनिक व्यापार घाटाले व्यापारीको टुप्पी डुबेन र ? मैले यी शब्दहरु लेखिरहँदा कसैलाई हतोत्साहित गर्न पक्कै खोजको होईन् तर, वास्तविकतालाई पर्दाले छोप्न सकिंदैन ।

प्रकाशितः २० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्