नेपालमा हातमुख जोर्न समस्या भएपछि पुनः भारततर्फ मोडिदै हजारौं पाइला



नेपालगञ्ज : कोरोना संक्रमणको त्रास र संत्रासका कारण भारतबाट आफ्नो घर फर्किएका नेपालीहरु पुनः भारत तर्फ जान थालेका छन् ।

जमुनाहा नाकाबाट कालापहाड (भारत) लाग्दै गरेकाहरुले हातमुख जोर्न समस्याभएपछि पुनः रोजगारीका लागि भारततर्फ जान थालेको बताउँछन् ।

‘गाउँमा माग्दा न ऋण मिल्यो न गरिखाने बाटो नै, न व्यापार व्यवसाय न रोजगार’ भात लाग्दै गरेकाहरुको गुनासो छ ।

कोरोनाको महामारी शुरु भएपछि मर्नुपरे गाउँमै मरौँला भनेर भारतबाट अनेक उपाय अपनाएर आफ्नै गाउँ फर्केका हजारौँ नेपालीको यात्रा फेरि छिमेकी मुलुक भारततर्फै मोडिएको छ ।

छोराछोरीको शिक्षा र बिहान बेलुकाको हातमुख जोर्ने उपायको सम्भावना नेपालमा भन्दा भारतमा देखेको बताउँदै पुनः भारत फर्किन लागेको बताउँछन् उनीहरु ।

सुर्खेतका विनोद कुमार बिष्ट बीबीसीसँग कुरा गर्दै भन्छन्–‘कोरोनाभाइरसको महामारीकै कारण होटेल व्यवसाय छोडेर दुई महिना अगाडि भारतबाट नेपाल फर्किएको थिए ।’

भारतको गुजरातमा आफैँले सञ्चालन गरेको होटेलमा काम गरिरहेका बिष्ट सुर्खेतका केही कामदारलाई लिएर नेपाल आएको दुई महिनापछि फेरि भारत फर्किन लागेको बताउँछन् ।

नेपालगञ्जको जमुनाहा नाका हुँदै भारत जाँदै गरेका बिष्टले बीबीसीसँग गुनासो गर्दै भने–‘सबै स्टाफहरूलाई घरमा छोड्न आउने बाध्यता भएर आएको थिएँ, अब फेरि गुजरात जाँदैछु, त्यहाँ आफ्नै होटल छ, होटलको भाडा तिर्नु छ, होटलको सरसामान के कस्तो भयो भनेर हेर्न पनि जाँदैछु ।’

वातावरण सहज हुँदै गएमा भारतीय कामदार राखेर फेरि उतै होटल सञ्चालन गरेर बस्ने बिष्टले बताए । यसअघि भारतमै रोजगारी गरेर जीविका चलाउँदै आएका मुगुका विजया कार्की र उनका श्रीमान् पनि पुनः रोजगारीकालागि भारत जान लागेको बताउँछन् ।

“घरमा केही छैन, बच्चा सानै छन् । सधैँ भारतबाट कमाएर ल्याउँदै खाँदै गरेका थियौँ तर लकडाउनले गर्दा ६–७ महिना धान्नै मुस्किल भयो, नेपालमा न रोजगार छ न व्यापार, फेरि कमाइ गर्न भारत जानुपर्ने बाध्यता भयो ।’ विजयाले भनिन्–‘महामारी फैलिएपनि आफ्नो सुरक्षा आफैँ गर्नुपर्ला, किनकि रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था आइसक्यो ।’

‘ऋण काढेर खाउँ भने पछि कसरी तिर्ने? कमाउँदै खाँदै गर्ने गरिबलाई ऋण पनि कसले दिन्छ र ?’ उनले प्रश्न गरिन् । विजयासँगै भारत जानलागेका उनका श्रीमान् मदन थापाले भारतबाट कुनै कम्पनीले नबोलाए पनि उतै गएर कामको खोजी गर्ने बताए ।

“मजदुरी गर्ने भनेर जानलागेको“ बताउँदै उनले भने–‘शिमलातिर गएर काम खोज्ने हो, पहिले काम गरेको एकजना मालिकलाई चिनेको भरमा काम खोज्न जाँदैछौँ ।’

बाँकेको खजुरा गाउँपालिकाका बासु शेखले भने लकडाउनको समयमा वृद्ध बाबुआमालाई खेतीपातीमा सघाउन नेपाल आएर फेरि भारत फर्किन लागेको बताए ।

भारतमा चाइनिज, पञ्जाबी, जापानी लगायत धेरै किसिमका खानाका परिकार बेच्ने आफ्नै धन्दा रहेको बताउने बासुले परिवार र छोराछोरी सहित वर्षौँदेखि भारतमै बस्दै आएको सुनाए ।

परिवारसहित भारतमा बस्दै आएको बताउने सुर्खेत लाटीकोईलीकी नविना थापा दुई महिनापछि फेरि भारत फर्किन लागेको बताउँछिन् ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अत्याधिक बढ्न थालेपछि श्रीमान् र छोरालाई लिएर माइत आएकी नविना छोराको अनलाइन कक्षा सञ्चालन भएको भन्दै महामारीको उच्च जोखिम हुँदाहुँदै फर्किनु पर्ने बाध्यता भएको बताइन् ।

‘यता रोजगारी पनि भएन, छोरो कक्षा ९ मा उतै पढ्छ, नेपालमा रोजगार मिल्ने भए त किन अर्काको देश फर्किनु पर्थ्यो र ? यतै जीविका चलाएर एउटा सन्तानलाई पढाउन सकिन्थ्यो तर जानै पर्ने बाध्यता भयो ।’

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्