बजार सञ्चालन गर्ने वातावरण बनाइदिन उद्योग वाणिज्य संघको आग्रह



जनकपुरधाम : विगत लामो समयदेखिको निरन्तरको लकडाउनका कारण उद्योगी व्यवसायीहरु पीडामा परेको भन्दै यसको समाधानका ललागि प्रदेश सरकार र स्थानीय प्रशासनलाई ध्यानाकर्षण स्वरुप आज (आइतबार) ज्ञापनपत्र बुझाइएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघले बिहान १० बजेदेखि ४ बजेसम्म बजार सञ्चालन गर्ने वातावरण बनाईदिन आग्रह गर्दै मुख्यमन्त्री लालबाबु राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।

विगत ५ महिनादेखिको बन्दाबन्दीका कारण व्यापारीहरुलाई जिविका चलाउन समेत समस्या भएको भन्दै उनीहरुले ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

बन्दाबन्दीका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग, कल कारखाना, कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटरपार्टस, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, रेडिमेड, कस्मेटिक, सुनचाँदी, जुत्ताचप्पल, भाडावर्तन, टेलरिङ्ग, पुस्तक तथा स्टेशनरी, ग्यास पसल, ब्यूटीपार्लरलगायतका अन्य पसल बजार व्यवसायलाई प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन जनकपुरधाम उद्योग वाणिज्य संघले मुख्यमन्त्री राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईसँग आग्रह गरेको छ ।

साथै औषधि, डेरी, कृषि सामग्री, मल, विउ, विजन, भेटनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तिय संस्थाहरु नियमित सञ्चालन गर्न पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

हरियो तरकारी तथा फलफुल, घुम्ती पसल साइकल, ठेला, मोटरसाइकल, टेम्पुमा राखि टोल टोलमा घुमाएर विहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेपछि मात्र बेचविखन गर्ने व्यवस्था मिलाउनुपर्ने माग समेत गरेका छन् ।

यस्तै कोरोना परीक्षणको दायरा बढाउन दुई वटा पीसीआर मेशिन थप गरि तुरन्त सञ्चालनको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । प्रादेशिक अस्पताल जनकपुर र जिल्ला अस्पताल महोत्तरीबाहेक निजि क्षेत्रमा सञ्चालित अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेजहरु मध्ये कुनै चिकित्सा संस्थालाई भेन्टिलेटर र अक्सिजन सुविधा सहिचत भाडा वा लिजमा लिएर कोरोनासँग लड्ने पूर्ण क्षमताका साथ कोभिड अस्पतालको रुपमा तुरन्त सञ्चालन गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले संघले राखेको मागप्रति गम्भीर भई आजैदेखि कार्यान्वयन गर्ने र बजार खोल्ने समय बढाउने प्रतिवद्धता जाहेर गरेको संघका महासचिव जितेन्द्र महासेठले जानकारी दिएका छन् ।

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्