सोझालाई डुबाउने सेयर बजार



काठमाडौं : आइतबार सेयरको प्रभातकालीन कारोबार (प्रि-ओपन सेसन)मा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो। नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै लगानीकर्तालाई ठूलो क्षति पुगेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत शुक्रबार राजीनामा दिएपछि सामाजिक सञ्जालमा सेयर बजारले ‘नयाँ ऐतिहासिक उचाइ चुम्ने’ हल्ला पिटिएको थियो। कार्यकालको सुरुदेखि नै ‘सेयर बजार विरोधी’को आरोप खेपिरहेका खतिवडाको बहिर्गमनपछिको सेयर बजारलाई धेरैले चासोसाथ प्रतीक्षा गरेका थिए। तर, अधिकांशको अनुमानविपरीत बजार ओरालो लागेपछि धेरैलाई यो घटनाले बिलखबन्दमा पार्‍यो।

प्रात :कालीन बजारमा जुर्मुराएका लगानीकर्ताको आशा १५ मिनेट पनि टिकेन। उल्टै ठूला लगानीकर्ताले नियमित कारोबार सञ्चालनपूर्व हुने यस्तो खरिदबिक्रीको लाभ-हानिबारे बहस गर्नुपर्ने बताउन थाले। सेयर बजारमा संस्थागत लगानी गर्ने पायोनियर कम्पनी हाथ्वे इन्भेस्टमेन्टका सञ्चालक एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘कतै यही सुविधाले बजारलाई गलत गाइड (दिशानिर्देश) त गर्दै छैन ? ’

ठूला राजनीतिक, आर्थिक एवम् प्राकृतिक घटनाहरूले सेयर बजारलाई अस्वाभाविक प्रभाव नपारोस् भनेर नेप्सेमा सुरुदेखि नै ‘प्रि-ओपन सेसन’ प्रयोगमा ल्याइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्। यस्तो व्यापार प्रणालीअनुसार बजार खुल्ने हरेक दिन बिहान १० :३० देखि १० :४५ सम्म प्राप्त भएका सबै खरिद तथा बिक्री आदेशहरू एकै पटक कारोबार गराइन्छ। यसले त्यस दिनको प्रारम्भिक सूचक निर्धारणमा पनि सघाउ पुग्ने पराजुली बताउँछन्। नियमित कारोबारमा कुनै पनि सेयरको भाउ अन्तिम मूल्यमा २ प्रतिशत तलमाथि गर्न पाइने भए पनि प्रात :कालीन कारोबारमा ५ प्रतिशतसम्म थपघट गरेर किनबेच गर्न पाइन्छ। आइतबार बिहानको उच्च वृद्धिको कारण त्यही हो।

किन बढेन बजार ?

धेरै साधारण लगानीकर्ताको अनुमानविपरीत आइतबार बजार नबढ्नुमा केही ठूला लगानीकर्ताको चतुर्‍याइँले काम गरेको बजार विश्लेषकहरू बताउँछन्। उनीहरूले सामाजिक सञ्जालमार्फत बजार उकालो लाग्ने हल्ला गरेर आफ्नो सेयर भने बेच्न थालेपछि यस्तो अवस्था आएको हो। साधारण लगानीकर्ता बजार बढ्ने आशामा सेयर किन्न झुम्मिए पछि सस्तोमा सेयर किनेर बसेका टाठाबाठाले बेच्न थालेका छन्। यसले धेरैलाई आश्चर्यमा पार्नेगरी बजार ओरालो लागेको छ।

पछिल्लो एक महिनामा नेप्से १३५ अंक बढेको छ। अढाइ महिनाअघि नेप्से ११८० अंकतिर थियो। त्यसयता ३३० अंकको उच्च बजार बढ्दा ठूला लगानीकर्ताले ठूलो पुँजीगत लाभ आर्जन गरिसकेका थिए। ‘अब बजार धेरै माथि जान नसक्ने देखेपछि ठूला लगानीकर्ताले सेयर बेच्न तँछाडमछाड गरे,’ एक सेयर ब्रोकर भन्छन्। नेप्सेका अधिकारीहरू पनि ठूला र चिनिएका लगानीकर्ताले सञ्चार माध्यममा एउटा कुरा भनेर बजारमा त्यसविपरीत कारोबार गर्ने पुरानै प्रवृत्ति भएको बताउँछन्। ‘फलानो कम्पनीको भाउ बढ्छ भनेर लेख्ने र आफू बेच्न थाल्ने, घट्छ भनेर लेखेपछि आफू किन्न थाल्ने गरेका छन्,’ ती अधिकारी भन्छन्।

अहिले सामाजिक सञ्जाललाई त्यसरी नै प्रयोग गर्न थालिएको अधिकारीहरूको बुझाइ छ। नेप्सेका प्रवक्ता पराजुली भने मुलुकको संविधानले अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको र सार्वजनिक रूपमा लेखेर वा बोलेर त्यसविपरीत कारोबार गर्नुलाई कुनै पनि कानुनले अवैध नमानेको बताउँछन्। उनले आन्तरिक सूचनाको आधारमा हुने कारोबारलाई निरुत्साहित गर्न र साधारण लगानीकर्ताको हित सुरक्षित गर्न आफूहरू नेप्से र धितोपत्रबोर्डले सधैं प्रयास गरिरहेको बताए। यद्यपि, अहिलेसम्म यी दुवै नियामकले आन्तरिक सूचनामा आधारित कारोबारको अनुसन्धानसमेत अघि बढाउन सकेका छैनन्।

त्यसमाथि भ्रामक सूचनाको आधारमा कारोबार गरेर लाभ लिएको पुष्टि गर्नु त हाम्रा नियामकका लागि ‘फलामको च्युरा’ भएको नेप्सेकै अधिकारीहरू पनि बताउँछन्। अर्का एक अधिकृत भन्छन्, ‘हामीसँग स्रोत, सामथ्र्य, जनशक्ति, प्रविधि र कानुनी अधिकार पनि त्यो स्तरमा प्राप्त छैन, जसले यस्ता अवैध कारोबारमाथि अंकुश लगाउन सकोस्।’

सेयर विश्लेषक प्रकाश तिवारी भने आम लगानीकर्ताको हित संरक्षण गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेले यस्ता अवैध कारोबारको छानबिन गरेर कारबाही चलाउनमा हात कमाउनु नहुने बताउँछन्। ‘अहिले नै हामीले बजारलाई स्वच्छ बनाउने अभियान नचाल्ने हो भने भविष्यमा अधिकांश न्यून आय भएका मान्छेको खल्तीको पैसा वैधबाटोबाटै सीमित धनीको हातमा पुग्छ,’ उनी भन्छन्। सेयर बजारका यस्ता अवाञ्छित गतिविधि नरोक्ने हो भने धनी र गरिबबीचको खाडल अझै गहिरिँदै जाने उनको बुझाइ छ।

आधारभूत अंक  : ११००

पाँच वर्षअघि नेप्से परिसूचक १०५० अंकको हाराहारी थियो। २०७२ चैतमा १३०० अंकबाट उकालो लागेपछि चार महिनामा सेयर सूचकांक झन्डै ६०० अंक बढेर १२ साउन २०७३ मा १८८१ अंक पुग्यो। त्यसको ६ महिनापछि १ फागुनसम्म फेरि ६३० अंक नै घटेर १२५२ अंकमा झर्‍यो। त्यसको दुई महिना नबित्दै ५४० अंक बढेर २९ चैतमा १७१० अंक पुग्यो। त्यसपछि पनि फराकिला उतारचढाव बनाउँदै ओरालो लागेको बजार अर्को एक वर्षमा फेरि ५४० अंक नै घट्यो। यसरी १२ चैत २०७४ मा ११६८ अंकमा झरेको नेप्से एक महिनामै २७० अंक बढेर ९ वैशाख २०७५ मा १४३८ अंकमा पुग्यो। दुई महिनापछि फेरि २६० अंक घटेर त्यही वर्षको १८ असारमा नेप्से सूचक पुन : ११७९ अंकमा झर्‍यो।

पछिल्लो समय पनि यही रफ्तार कायमै छ। ९ मंसिर २०७६ मा ११०७ अंकमा झरेको नेप्से १८ फागुनमा १६२० अंक पुग्यो। यसरी ३ महिनामा ५१३ अंक बढेको नेप्से अर्को चार महिनामा ४४० अंक घटेर गएको १५ असारमा ११७८ अंकमा झर्‍यो। त्यसपछि अहिले बढ्दो रफ्तारमा छ। यसरी ५ वर्षदेखि सेयर बजार ११०० अंकलाई आधार मानेर रहँदै आएको देखिन्छ। यसबीचमा विभिन्न बहानामा बजार उचालेर सोझासाझा सर्वसाधारणको सम्पत्ति वैधानिक बाटोबाटै धनीमानीको खल्तीमा पुगेको विज्ञहरू बताउँछन्। अन्नपूर्ण पोष्ट दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।

प्रकाशित : भदौ २२, २०७७


 

प्रतिक्रिया दिनुहोस्