खोलामा जीप खस्दा दुईको मृत्यु, ६ जना घाइते



तनहुँः आज तनहुँको ऋषिङ गाउँपालिका-१ देउलीखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका-८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका-५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जीपमा सवार अन्य ६ जना घाइतेमध्ये ४ जनाको पोखरामा र २ जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

व्यास नगरपालिका-५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटी लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग १ ज ७१२८ नं.को जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्