पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु



पर्साः पर्सामा थप एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा वीरगन्ज ३० लालपर्साका ५४ वर्षिय एक जना पुरुषको दिउँसो मृत्यु भएको हो ।

मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित ती पुरुषलाई शुरुमा वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा पिसिआर परिक्षण गरिएको थियो, अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले भने, रिपोर्ट पोजेटिभ आएपछि भदौ १५ गते कोभिड अस्पताल हेल्थ केयरमा भर्ना गरिएको थियो ।

कोभिड अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा आज दिउँसो उनको मृत्यु भएको उनले बताए । कोभिड अस्पतालको आइसीयुमा भर्ना गरिएका उनको ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको उनले बताए ।

पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन यतामा मात्रै ५५ जनाको मृत्यु भएको हो । पर्सामा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५९ मध्ये २ बेवारिसे पुरुषसहित पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन् ।

प्रकाशितः २२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्