चिनियाँ सेनाले भारतीयलाई कब्जामा लिएको आरोप



काठमाडाैं : भारत र चीनबीच तनाव बढिरहेका बेला चिनियाँ सेनाले ५ जना भारतीय नागरिकलाई कब्जामा लिएको भन्दै भारतीय सेनाले एक सन्देश पठाएको छ ।

भारतीय सेनाका अनुसार उनीहरूलाई सीमावर्ती भारतीय राज्यबाट नियन्त्रणमा लिइएको हो । दुई दिनअघि अरुणाचल प्रदेशका एक सांसदले ट्वीट गर्दै ५ जना भारतीयलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको आरोप लगाएका थिए ।

सांसद तापिर गाओले ट्वीट गर्दै सेप्टेम्बर ३ मा सीमाक्षेत्रनजिकै ५ जना नागरिकलाई चिनियाँ सेनाले कब्जामा लिएको आरोप लगाएका हुन् । यद्यपि, उनले त्यसबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई ‘हटलाइन सन्देश’ पठाइएको बताएका छन् । अल्पसंख्यक कार्य राज्यमन्त्री किरेन रिजिजुले सीमा तनाव अन्त्यका लागि सन्देश पठाइएको जनाए ।

एक पत्रकारको प्रश्नको जवाफमा रिजिजुले भारतीय सेनाले उक्त घटनाबारे चिनियाँ पक्षको जवाफ पर्खिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले भने घटनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर यो घटनाले दुई देशबीच तनाव थप बढ्न सक्ने ठानिएको छ ।

चीनले सीमा क्षेत्रमा सैन्य तनावका लागि उक्साउने काम गरिरहेको आरोप भारतले लगाएको छ । भारतले अगस्ट पहिलो सातामा दुईपटक यस्तो आरोप लगाएको थियो । तर चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

गत जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा भारत र चीनका सैनिकबीच हिंसात्मक झडप भएयता दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो । झडपमा २० भारतीय सैनिक मारिएका थिए । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको थिएन । उक्त घटनापछि दुवै पक्षबीच एलएसीको पूर्वसहमतिलाई उल्लंघन गरेको आरोप–प्रत्यारोप चल्दै आएको छ ।

सीमाक्षेत्रमा जारी तनाव अन्त्यको पहलका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई दिनअघि रुसको राजधानी मस्कोमा चिनियाँ समकक्षीलाई भेटेका थिए ।

त्यसले चाँडै तनाव कम गराउन संवाद अघि बढ्ने अपेक्षा गरिएको भए पनि दुई देशबीचको वाक्युद्ध जारी छ । चीनले सीमा क्षेत्रको तनावका लागि भारत ‘पूर्णरूपमा’ जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ भने भारतले ‘आफ्नो एक इन्च भूभाग पनि नछाड्ने’ बताएको छ ।

त्यसका साथै चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकहरू परिचालन गरेको र उनीहरूले आक्रामक व्यवहार देखाएको भारतीय आरोप छ । दुवै देशले बारम्बार एकअर्कालाई हिमालय क्षेत्रको लद्दाखमा सीमा पार गरेर हिंसा भड्काउन खोजेको आरोप लगाउने गर्छन् । विश्लेषकहरूले जुनदेखि सीमा क्षेत्रमा संवेदनशील अवस्था रहेको बताउने गरेका छन् ।

दुई देशबीच विभिन्न चरणमा सैन्य र कूटनीतिक वार्ताहरू भए पनि परमाणु समस्या समाधान भने हुन सकेको छैन । भारत र चीनबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा जोडिएको छ । त्योमध्ये करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच दशकौंदेखि विवाद रहँदै आएको छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । सीमा विवादलाई नै लिएर सन् १९६२ मा भएको युद्धमा भारतले नराम्रो पराजय भोगेको थियो । कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्