झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ



बागलुङ : तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङलगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । 

 

नेपाली समाजमा तिहारको भाइटिकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि बाह्रैमहिना झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको उद्यमीहरु बताउँछन् । 

 

बागलुङका उद्यमीले दशैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्याधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको उद्यमीहरुको भनाइ छ । 

 

‘‘झिनियाँको माग अत्याधिक भएका कारण रातदिन नभनी काम गरिरहेकी छु’’ उद्यमी मीरा श्रेष्ठले भनिन्, “यही सिजनमा चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार बिक्री गर्ने लक्ष्य छ ।” 

 

श्रेष्ठले झिनियाँ, चिनी, तथा फिनि रोटी विगत लामो समयदेखि उत्पादन गर्दै आएकी छन् । उनले वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रुपमा झिनियाँ बनाउँदै आएकी श्रेष्ठले बागलुङ बजारमा मात्र आफू जस्ता दर्जनौं महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताइन् । 

 

तिहारमा दाजुभाइलाई सप्तरङ्गी टिकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमीहरु विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त भएका छन् । उद्यमी बिहान ३ बजेदेखिनै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् । 

 

‘‘अहिले झिनियाँको माग अत्याधिक छ’’ अर्का उद्यमी सरीता सापकोटाले भनिन्,“ तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।” उद्यमीहरुका अनुसार रु एक हजार ४०० को चामलबाट करीब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ तयार गर्न सकिन्छ । थोक मूल्यमा दर्जनको एक सय रुपैयाँ तथा फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका उद्यमीले यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त हुने गरेका छन् । 

 

दशैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्