कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा उद्योगी बोस पक्राउ



हेटौडा : फर्जी कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा हेटौँडाका उद्योगी विप्लपकान्ति बोस (विके) पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा ५९ वर्षीय बोसले फर्जी कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बोसलाई मंगलबार हेटौँडा– ५ गर्दोईबाट पक्राउ गरेको हो । पक्राउ गरी बोसलाई रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउको लागि मकवानपुर प्रहरीलाई पत्र लेखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई पक्राउ गरेको हो ।

‘बोसले फर्जी कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोप छ । उनलाई आज पक्राउ गरेका छौँ । अब रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ,’ रानाले भने । बोस ब्याडमिण्टनका राष्ट्रियस्तरका खेलाडीसमेत हुन् ।

रोपित बोसले लामो समयदेखि हेटौँडामा दुईवटा उद्योग सञ्चालन गरिरहेका छन् । उनको नाममा हेटौँडा औद्योगिक क्षेत्रभित्र सुपर लेमिकोट्स प्रालि र हेटौँडा–५ गर्दोइमा नारायणी मिल्क छ ।

प्रतिक्रिया दिनुहोस्