कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु



काठमाडौँ : कोरोना निको भएर घर फर्किएपछि एक ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तार्केश्वर नगरपालिका निवासी उनको संक्रमणमुक्त भएर घर फर्केको एक सातापछि मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा भर्ना गरेर उपचार गरिएको थियो ।

भदौ १२ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएपछि उनलाई एपीएफ अस्पतालले डिस्चार्ज गरेको थियो । साउन ३२ गते ज्वरो आएका कारण ग्रिन सिटी अस्पतालमा भर्ना भएका परीक्षण गराउँदा निमोनिया देखिएपछि कोभिड–१९ हुनसक्ने शंका गर्दै चिकित्सकहरुले उनको पीसीआर गराएका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई भदौ ३ मा एपीएफ अस्पताल रिफर गरिएको थियो । त्यहाँ उनको अवस्था गम्भीर भएपछि ६ दिन भेन्टिलेटरमा राखेरै उपचार गरिएको थियो ।

मृतकका छोराका अनुसार अस्पतालबाट घर फिरेपछि उनको बुवाको अवस्था सामान्य हुँदै गएको थियो । उनी निरन्तर चिकित्सकसँगको सम्पर्कमै थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि स्वास्थ्यमा कुनै समस्या नदेखिएका उनको भदौ १९ गते अचानक निधन भएको हो । ‘बुवाले सामान्य अवस्था झैं खान पनि खाइरहनुभएको थियो । बोलीचाली सामान्य थियो,’ उनले भने, ‘मुटुको रोग त थिएन । तर, बिहानै उठेर शौचालय जनुभयो । निस्केपछि अचानक हृदयघात जस्तो भएर उहाँ बित्नुभयो ।’

सरूवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भाइरसमुक्त भएर घर फर्केका धेरै बिरामीमा छाती, मुटु, नशा सम्बन्धी समस्या देखिन थालेका छन् । दुई महिनाअघि नेपालमा कोरोनाका लक्षणविहीन बिरामीमात्रै थिए, उनीहरूमध्ये निकै कम व्यक्तिमा मात्रै पुनः सक्रमण भएको पाइएको छ । तर, पछिल्लो समय लक्षणसहितका संक्रमितले अस्पतालका आईसीयू बेडसमेत भरिन थालेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आईसीयू र भेन्टिलेटरसहितको उपचारपछि घर फर्केकामा व्यक्तिमा पनि केही न केही समस्या देखिएर फेरि अस्पताल आउने गरेको उनले बताए । ‘नेपालमा कोरोनामुक्त भएका मानिसरूमाथि केही अध्ययन भएको छैन । तर, अध्यनन गर्न ढिला भइसकेको छ,’ उनले भने, ‘विदेशमा यस विषयमा विभिन्न खाले अध्ययन भैसकेको छ । त्यहाँको जस्तै अवस्था यहाँ पनि देखिन थालिसक्यो । बेलैमा यस विषयमा अध्ययन गरे भोलि पोष्ट कोरोना इफेक्टका निति नियम र निर्देशिका बनाउन सहज हुने छ ।’ विदेशी अनुसन्धानका अनुसार कोरोनाका कारण गम्भिर भएका मानिस संक्रमणमुक्त भएपछि पनि स्वास्थ्य स्थिति पहिले जस्तो सामान्य नहुने र गुणस्तर जिवनयापनमा समस्या आइरहने देखिएको उनले बताए ।

संक्रमणमुक्त भएका व्यक्तिमा पुनः संक्रमण हुने दर के कस्तो छ, निको भएर घर फर्केका व्यक्तिमा कस्ता समस्या देखिएका छन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालयबाट कुनै अध्ययन नभएको सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । ‘यस विषयमा हाम्रो ध्यान केन्द्रित भएको छ । अब काम पनि गर्ने तयारीमा छौं,’ उनले भने, ‘कोरोनाकै कारण घर फर्केपछि मृत्यु भएका केस चाहीँ हामीलाई थाहा भएन ।’

यस्तै ती मृतक व्यक्तिलाई कोबाट कोरोना सर्‍यो भन्ने पनि पत्ता नलागेको उनका छोराले जानकारी दिए । ‘संक्रमण फैलिँदै गएपछि उहाँ घरबाट निस्किनुनै भएको थिएन । घर बाहिर निस्कने सदस्यसँग पनि नजिकबाट भेटघाट गर्नुभएको थिएन । आइसोलेट भएर बस्नुभएको थियो,’ उनले भने, ‘हामीबाटै सर्‍यो भनौं भने हामी परिवारका ६ सदस्य सबैको पीसीआर रिपोर्ट निगेटिभ छ ।’ कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छन् ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्