महोत्तरीमा सातौं पटक भदौ ३१ सम्मका लागि निषेधाज्ञा



जनकपुरधामः कोरोना संक्रमणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै महोत्तरी जिल्लामा निषेधाज्ञाको समयअवधि पुनः सातौं पटक थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको र समुदाय स्तरमा फैलिएकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाउन निषेधाज्ञाको समयअवधि भदौ ३१ गते बुधबार राति १२ बजेसम्मका लागि पुनः बढाइएको जानकारी दिए ।

प्रजिअ कटुवालले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सातौं पटक निषेधाज्ञाको आदेश दिइएको जानकारी दिए । उनले अत्यावश्यक पसलहरु अनिवार्य पञ्जा, मास्क एवं स्यानिटाईजरको प्रयोग गरि सामाजिक दूरी कायम गरेर मात्र सञ्चालन गर्न आग्रह गरेका छन् ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । महोत्तरीमा अहिलेसम्म १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ९ सय २२ रहेको छ । कोरोना संक्रमणबाट महोत्तरीमा अहिलेसम्म ११ जनाको ज्यान समेत गईसकेको छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्