परम्परागत अलैँची भट्टी नै प्रयोग गर्न थाले व्यवसायी



इलाम : अलैँचीको बारेमा सम्भवतः सबैभन्दा बढी छलफल भएको विषय हो, अलैँची सुकाउने भट्टी । कहिले पराम्परागत त कहिले आधुनिक र कहिले सुधारिएको भट्टी । यसैबारे सधैँ तर्कबाजी र बहस चल्छ । कसैले गुणस्तरको नाममा त कसैले खर्चको नाममा तर्कबाजी गर्ने विषय भएको छ अलैँचीको भट्टी । यहाँ एक किसिमको भट्टीलाई उत्तम र अरूलाई ‘बेकामे’भन्ने चलन सधैँ चलिरहन्छ ।

पाँच वर्षअघि आधुनिक भट्टी भन्दै विभिन्न सङ्घरसंस्थामार्फत विदेशी भट्टी गाउँ पुर्याइयो । तिनै भट्टीलाई गुणस्तरीयको नाम दिँदै किसानलाई भिराइयो पनि । अन्ततः गुणस्तरहीन भट्टी भन्दै किसान पराम्परागत भट्टीमै फर्किए । अहिले ती भट्टीलाई खुलेरै कृषि विज्ञ र अलैँची व्यवसायी ‘कमिसनको नाममा भिराइएको’ भन्न हिच्किचाउँदैनन् तर अहिले सुधारिएको भट्टी भन्दै नयाँ किसिमका भट्टी पहिले जस्तै गाउँ पुर्याइएका छन् । यस्ता भट्टीको वितरणमा व्यवसायी र विज्ञले मात्र होइन, सरकारी कार्यालय कृषि ज्ञान समेत लागेको छ ।

सुधिरिएको नाममा ल्याइएका यस्ता भट्टी पनि आलोचनाबाट मुक्त छैनन् । यसबारे विज्ञ र व्यवसायीकै तर्क फरक छ । व्यवसायी÷व्यवसायीकै धारणा मिल्दैन । सुधारिएको भट्टी भनिए पनि अन्तर्राष्ट्रिय बजारमा पराम्परागत भट्टीकै अलैँची गुणस्तरीय हुने बताउँछन्, अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई । उनका अनुसार परम्परात भट्टी बाहेकका अन्य भट्टीबाट उत्पादित अलैँची अहिले अन्तर्राष्ट्रिय बजारमा कम गुणस्तरीय छन् । आधुनिक वा सुधारिएको भट्टीको अलैँचीको भित्री भाग नपाकेको र लामो समय नटिक्ने भएकाले यस्ता भट्टीको औचित्यै नभएको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्