कोरोना संकटले बढायो आत्महत्याको जोखिम



आत्महत्या विश्वव्यापी रुपमा नै जटिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उद्देश्यले प्रत्येक वर्ष १० सेप्टेम्बर दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आएको छ । यस वर्ष पनि यो दिवसको नारा “आत्महत्या रोकथाममा सबैको सहकाय’’ रहेको छ ।

यो वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिक जस्ता सबै पाटोलाई असर पुर्याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकट पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजोआज आईरहेका छन । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन ।

नेपालमा पनि आत्महत्या पहिलादेखि नै जनस्वास्थ्यको एउटा ठूलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८-१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस वर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कुल संख्या छ हजार २७९ रहेको छ । यसरी हेर्दा दैनिक १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन । अघिल्लो आर्थिक वर्षमा पाँच हजार ७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । जुन सरदर दैनिक १६ जना पर्न आउँछ ।

प्राकृतिक विपत्ति पर्दा, रोग व्याधि फैलिदा जस्ता असहज र जोखिमपूर्ण अवस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ । त्यसैले आत्महत्या लकडाउनपछिको मात्र समस्या हो । लकडाउनपछि भयावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । लकडाउनभन्दा पहिले र लकडाउनपछिको तुलना गर्ने हो भने खासै फरक देखिदैन । तर बढदै जाने संकेतहरु भने देखा पर्न थालेका छन ।

बालबालिकामा भने यस बीचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ । जुन दुःखद हो । आत्महत्या एकदमै संवेदनशील बिषय हो । आत्महत्याको समचारलाई अतिरन्जित र सनसनीपूर्ण बनाउनुहुँदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्याउँछ । डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढछ । बालबालिकाले त्यसको सिको गर्न सक्छन् ।

आत्महत्या विश्वको साझा समस्या

आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो विश्वकै साझा समस्या हो । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक तीन सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा २५ व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिले आत्महत्या गर्न गम्भीर रूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष बिश्वमा सरदर ८-१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्युभन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।

प्रायःसबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोही व्यक्ति आत्महत्या गरेर आफ्नो जीवन आफै समाप्त पार्न खोज्छन ? आत्महत्याको अवस्थामा पुगेका बेला पक्कै पनि व्यक्तिले आफ्नो जीवनका सबै ढोका बन्द भएको देख्छ होला । मर्नुबाहेक अरु कुनै पनि विकल्प भेट्दैन होला । उ चरम निराशामा डुबेको हुन सक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारण हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउँदा वा अत्याधिक जाँड, रक्सी, लागूपदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छन् । व्यक्तिले आत्महत्या आफ्नो व्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

धेरैजसो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ । जसरी कुनै कुनै शारीरिक रोगमा केही व्यक्ति उच्च जोखिमा हुन्छन् । त्यसैगरि केही व्यक्ति मानसिक रोग र आत्महत्याको हिसाबले केही उच्च जोखिममा हुन सक्छन । जस्तो मानसिक रोग डिप्रेसनमा रहेको, कुनै दुःखद घटनाले धेरै प्रभावित, पटक पटक आत्महत्याको प्रयास गरेको, तनावपूर्ण पेशामा भएकाहरु, पारिवारिक झै-झगडा, आर्थिक संकट भएका, बेरोजगार, लागूपदार्थ कुलतमा फसेका आदि ।

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छन् । मानसिक रोगलाई पूर्व जन्मको पाप र अपराध ठान्छन् । देवी देवता कुल देवता बिग्रेको भन्छन् । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यको यो गीतले भनेझै दुःख र निराशाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनसक्छ । त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नुभएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ, मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो टवालो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्ती सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नाश भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन ।

आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ । आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।

यहाँहरुमा पनि कुनै किसिमको मानसिक समस्या, आत्महत्याको सोच वा प्रयास जस्ता समस्या भएमा सहयोगका लागि निर्धक्क फोन मार्फत मनोपरामर्श सेवा लिन सक्नु हुनेछ । जसका लागि फोन न- ९८१३५२७७३२ चौबीसै घण्टा खुला रहनेछ ।

गोपाल ढकाल, मनोविद

(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्