भारतमा ८६ वर्षीया वृद्धा बलात्कृत



एजेन्सी : भारतमा वर्षेनी हजारौंको संख्यामा महिलाहरु बलात्कार भएको घटना सार्वजनिक भइरहन्छन् । तर केही घटना भने सोच्नै नसकिने किसिमका हुन्छन् ।

यस्तै एउटा स्तब्ध पार्ने घटना भारतको राजधानी नयाँदिल्लीमा भएको छ । नयाँदिल्लीको प्रहरीले एक ८६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा ३० वर्षका एक युवालाई पक्राउ गरेको छ ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालिवालले दिएको जानकारी अनुसार ती वृद्धा बेलुकी आफ्नो घर बाहिर दुध ल्याउने व्यक्तिको प्रतिक्षा गरिरहेका बेला बलात्कार गर्ने व्यक्ति उनी भएठाउँ पुगेका हुन् ।

स्वाति मालिवालले भनिन्, ‘ती व्यक्तिले महिलालाई सधैं दुध ल्याउने व्यक्ति आज नआउने त्यसैले उनलाई दुध पाउन सकिने स्थानमा पुर्याइदिने बताइन् ।’

स्वातिका अनुसार वृद्धाले उनलाई विश्वास गर्दै उनीसँगै गइन् । त्यसपछि ती व्यक्तिले नजिकैको खेतमा लगेर उनलाई बलात्कार गरे । उनी रोइरहिन् र आफूलाई छोडिदिनका लागि याचना गरिरहिन् तर ती व्यक्तिले सुनेनन् । उनले आफूलाई छुटाउने प्रयासमा ती व्यक्तिलाई कुटिन् पनि ।

त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गए । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिए ।

स्वाति मालिवाल मंगलबार पीडितको घर गइन् । त्यहाँ उनले जे देखिन् त्यो मन कुँडिने खालको थियो ।

‘उनको हातभरी चाउरी थिए । जब तपाईं उनको कहानी सुन्नुहुन्छ नि तपाईंको मन दुख्नेछ । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

स्वाति मालिवालले अभियुक्तका लागि मृत्युदण्डको माग गरेकी छिन् ।

सन् २०१२ को डिसेम्बरमा २३ वर्षीया फिजियोथेरापीको विद्यार्थीलाई दिल्लीमा एक बसमा बलात्कार गरेपछि भारतमा बलात्कार र यौन हिंसाको घटना बढिरहेको छ ।

उनको उपचाररत अवस्थामा निधन भएपछि घटनामा संलग्न चार युवालाई मार्चमा मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्