सुशान्तसिंह निधन प्रकरण : लहरो तान्दा पहरो गर्जँदै



एजेन्सी : बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपछि लहरो तान्दा पहरो जाने अवस्था देखिएको छ। सुशान्तको निधनको कारण खोतल्दै जाँदा बलिउडका कलाकारले लागूऔषध सेवन गरेकादेखि सुशान्तको पक्षमा आवाज उठाउने कंगना रनावतको कार्यालयमा डोजर चलेको छ। यो घटना कुनै थ्रिलर फिल्मको कथाजस्तै ‘अब के पो होला’ भन्ने ढंगले अघि बढिरहेको छ।

रिया पक्राउ

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुख्य अभियुक्त मानिएकी अभिनेत्री रिया चक्रवर्ती अनन्तः पक्राउ परेकी छन्। रियालाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले नियन्त्रणमा लिएको हो। लागूऔषध सेवन तथा ओसारपसारमा उनको संलग्नता देखिएपछि एनसीबीले मंगलबार साँझ नियन्त्रणमा लिएको थियो।

त्यसो त रियाको पक्षमा आईएम विथ रिया भन्दै अनुराग कश्यप, फरहान अख्तर, शवाना आजमी, करिना कपुर, विद्या बालन, अभय देओल, मलाइका अरोडरा, सोनम कपुरलगायत धेरै कलाकारको समर्थन छ। रियाको पक्षमा प्रायः एन्टी मोदी भनिने कलाकार छन्। तर, कंगनाको कार्यालय उजाडिँदा पनि अनुपम खेरबाहेक उनका पक्षमा चर्चित कलाकारले मुख खोलेका छैनन्।

लागूऔषध सेवनसहित कैयाैँ आरोपमा यसै साता रियामाथि एनसीबीले लगातार तीन दिन सोधपुछ गरेको थियो। उनले आफूले सुशान्तको दबाबमा गाँजा र केही केमिकल सेवन गरेको बयान दिएपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो। जबकि त्यसअघि उनले सुशान्तका लागि लागूऔषध आउने गरेको तर आफूले कहिल्यै सेवन नगरेको बयान दिँदै आएकी थिइन्।

यसअघि एनसीबीले लागूऔषध प्रकरणमा संलग्नता देखिएपछि रियाका भाइ सौविक चक्रवर्ती, नायक सुशान्तका प्रबन्धक समुएल मिरन्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त पक्राउ परिसकेका छन्। तिनीहरूलाई पनि लागूपदार्थ खरिद र कारोबार गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।

अहिले लागूऔषध प्रयोग प्रकरणमा पक्राउ परेकी रियाको सुशान्तको आत्महत्यासँग कनेक्सन छ कि छैन भन्ने जाँच चलिरहेको छ। स्मरण रहोस्, रियाले लागूऔषध सेवन तथा ओसारपसारमा संलग्न केही कलाकारको नामसमेत उल्लेख गरेकी छन्। यसले बलिउडमा भुइँचालो गएको छ। उनले ककसको नाम पोलेकी छन्। त्यसको मुखुण्डो केही दिनमै उघारिने देखिन्छ। गहन अनुसन्धान गरिएमा बलिउडका ठूला हस्तीहरूको असली अनुहार उदांगो हुनेछ।

गएको साता अभिनेत्री कंगना रनावतले बलिउडका केही सेलिब्रेटीले लागूपदार्थ सेवन गर्ने हल्ला आएकाले उनीहरूको स्वास्थ्य परीक्षण गर्न माग गरेकी थिइन्। उनले नायक रणवीर सिंह, रणवीर कपुर, आयान मुखर्जी र विक्की कौशललगायत दुव्र्यसनी भएको समाचार आएको र परीक्षण गरेर यो झुटो हो भन्ने सावित गरिदिन आग्रह गरेकी थिइन्। स्मरण रहोस्, त्यसअघि कंगनाले ट्विटबाटै बलिउड उद्योगका ९९ प्रतिशत मान्छे लागूपदार्थ दुव्र्यसनी भएको पनि अभिव्यक्ति दिएकी थिइन्। सुशान्त घटनाको केस्रा केस्रा केलाउँदै जाँदा लागूऔषध कारोबारीहरू कसरी बलिउड सिनेकर्मीहरूलाई चंगुलमा पार्दैछन् भन्ने ऐनाझैं छर्लंग देखिन थालेको छ।

मुम्बई नगरी मात्रै होइन, लागूऔषध कारोबारमा अन्य क्षेत्रका कलाकार पनि मुछिन थालेका छन्। कन्नड अभिनेत्री रागिनी द्विवेदीलाई भारतीय प्रहरीको केन्द्रीय अपराध शाखाले हालै पक्राउ गरेको छ। कन्नड फिल्म उद्योगसँग जोडिएको लागूऔषधको विषयलाई लिएर प्रहरीले उनलाई हिरासतमा लिएको हो। मादक पदार्थ ब्युरो (एनसीबी) ले बैंलोरबाट तीन जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागूेको छ। कन्नड फिल्म उद्योगका कम्तीमा १५ जना व्यक्ति मादकपदार्थसँग सम्बन्धित कारोबारमा सामेल रहेको समाचार छ।

पछिल्लो फिल्म बाहुबलीमा देखिएकी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णनन् जेठको अन्तिम साता प्रहरीको फन्दामा परेकी थिइन्। उनको कारमा १०४ वटा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनका ड्राइभरसमेतलाई हिरासतमा लिएको थियो।

कंगनाको कार्यालय तोडफोड

नायक सुशान्त सिंह राजपुतको निधनपछि उनको पक्षमा निरन्तर वकालत गरिरहेकी कंगनाले मुम्बईमा आफू असुरक्षित महसुस गरिरहेको बताएकी थिइन्। त्यसपछि भारतको केन्द्र सरकारले बलिउड अभिनेत्री कंगना रनावतलाई आइतबार प्रहरी सुरक्षा दिने निर्णय गरेको थियो। कंगनाले ट्विटरमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई धन्यवाद पनि दिएकी थिइन्। उनलाई ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णयपछि महाराष्ट्र सरकार रुष्ट भएको थियो।

कंगनाले ट्विट गर्दै भनेकी थिइन्, ‘यो प्रमाण हो कि अब कुनै देशभक्त आवाजलाई कुनै फाँसीवादीले कुल्चन सक्दैन।’ तर यस्तो अभिव्यक्तिको दुई दिनमै उनको मुम्बईस्थित कार्यालयमा डोजर चलाइएको छ। कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो। मुम्बई महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाले गरिएको भन्दै २४ घण्टाको अल्टिमेटमसहित सूचना टाँस गरेको थियो। त्यसको केही समयपछि उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए। उनीहरूले अफिस भत्काएका छन्।

कंगनाले महाराष्ट्र सरकारका गुन्डाहरू आफ्नो अफिस पुगेर तोडफोड गरेको आरोप लगाएकी छन्। उनले ट्विटरमार्फत आफ्नो अफिस, अफिस मात्र नभएर राम मन्दिर भएको उल्लेख गर्दै आफ्नो अफिसमा बारम्बार प्रवेश गरेको बताएकी छन्। कंगनाले बीएमसीविरुद्ध उच्च न्यायालयमा उजुरी पनि दिएकी छन्। विडम्बना कंगनाको पक्षमा कलाकार कम छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्