केन्द्रीय विद्युत् जडानपछि चौबीसै घण्टा टेलिफोन



खोटाङ :  केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ ।

विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । “विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खनुपर्ने थियो”, उनले भने, “केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि अहिले जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने भएको छ ।”

धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोनका सेवाग्राहीलाई सहज भएको छ । दुई वर्षअघि जडान गरेर सञ्चालनमा ल्याइएको टेलिफोन टावर यसअघिसम्म दैनिक बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो ।

थ्री–जी सेवा सञ्चालन हुँदै आएको उक्त टेलिफोन टावरमा केहि दिनभित्रै फोर–जी सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले बताए । “फोर–जी सेवा सञ्चालनका लागि प्राविधिक कामहरु बाँकी नै छ”, उनले भने, “प्राविधिक समस्या हल गरेर चाँडै फोर–जी सेवासमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।”

धिर्नुडाँडाको टेलिफोन टावरले केपिलासगढी गाउँपालिकाको सबै वडा तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा समेत काम गर्ने टेलिकमले जनाएको छ । जिल्लामा सञ्चालित सबै टेलिफोन टावरमा फोर–जी सेवा सञ्चालन गर्नेगरि तयारी भइरहेको टेलिकमले जनाएको छ ।

स्थानीय हाइड्रोपावरमार्फत दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त टेलिफोन टावरमा गत चैतदेखि पावर पु-याउन नसकिएको जनाइएको छ । टेलिफोन टावरमा जडान गरिएको सोलारले समेत दिउसोबाहेक अन्य समयमा काम गर्न छाडेपछि सेवाग्राहीहरुले करीब छ महिनादेखि टेलिफोनको समस्या झेल्दै आएका थिए ।

यसैबीच, दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष १४ ठाउँमा टेलिफोन टावर जडानको काम भइरहेको टेलिकमले जनाएको छ । बाम्राङ, बराहपोखरी, बतासे, बुइपा, डाँडागाउँ, दिक्तेल, खार्पा, पाथेका, दुवेकोल, ऐसेलुखर्क, देविथान, बाँझेच्यानडाँडा, दोर्पाआहाले र डम्वरखुशिवालयमा जडानको काम भइरहेको हो ।

डाँडागाउँ र ऐसेलुखर्क बाहेक अन्य स्थानमा जडान गरिएको टावरको काम अन्तिम चरणमा पुगेको टेलिकमले जनाएको छ । अहिले जडान भइरहेको टावरमा फाइबरमार्फत फोर–जी सेवाको कामसमेत भइरहेको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि १४ ठाउँमा जडान गरिएको टेलिफोन टावरमार्फत टेलिफोन सेवा सञ्चालनमा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, हलेसी, बाक्सिला, खोटाङबजार, ऐसेलुखर्क र सिम्पानीमा ल्याण्डलाइन सेवासमेत सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्