लमजुङमा पहिरोले पाँच घर उच्च जोखिममा



लमजुङ : डुम्रे–बेँसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन् । घर तल गत साउन महिनाको पहिलो साताबाट जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझबाट परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताए।

उनका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बीबी बोहोरा र बुद्धि बोहोराको घर उच्च जोखिममा छन् । घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ । घर वरिपरि एक/एक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिरोले घरहरु नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनबाटै जान थालेको छ । पहिरोले पटकपटक डुम्रे–बेँसीशहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ ।

सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ । नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई रु ३० हजारका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्