सोलुखुम्बुमा थाइराइड परीक्षण हुन थालेपछि खुशी



सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक थाइराइड परीक्षण शुरु भएपछि यस क्षेत्रका नागरिक हर्षित भएका छन् । सदरमुकाम सल्लेरीमा सञ्चालित सोलु हेल्थकेयर प्रालिले कोरोना महामारीकै बीचमा सेवा शुरु गरेपछि सहज हुने भन्दै यहाँका नागरिक हर्षित भएका हुन् ।

अब थाइराइड परीक्षणका लागि काठमाडौँलगायत जिल्लाबाहिरका अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय उमा शाक्यले खुशी व्यक्त गरे । यसअघि थाइराइड परीक्षण गराउनकै लागि यहाँका नागरिक विराटनगर, धरान या काठमाडौं जानुपर्ने बाध्यता थियो ।

लकडाउन तथा कोरोना महामारीका कारण पुनः जाँचका लागि अन्यत्र जान नपाएका बेला जिल्लामै सेवा शुरु हुनु सुखद् भएको तिङ्लाकी पूर्णमाया बस्नेतले बताउनुभयो । “केही महिनाअघि विराटनगर गएर जाँच गराउँदा थाइराइड देखिएको थियो अनि फेरि जाँच गरेर औषधि थपघट गर्नुपर्छ भनेका थिए”, उनले भन्नुभयो, “कोरोनाकै कारण जान सकिरहेका थिइन, अब यहीँ आयो ढुक्क भयो ।”

काठमाडौं जानका लागि एकतर्फी जिप भाडा रु एक हजार ५०० तिर्नुपर्छ भने इटहरी जानका लागि एकतर्फी मात्रै रु एक हजार १८०० सम्म लाग्छ । स्थानीय धनमाया मगरले भने, “जाने आउने र खाना खाने खर्चले जिल्लौ थाइराइड परीक्षण गराउन सकिन्छ भने समयको समेत बचत हुँदा हामी एकदमै खुशी छौँ ।”

“खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्ने हर्मोनलाई थाइराइड हर्मोन भनिन्छ”, सोलु हेल्थकेयरका प्रबन्धक निर्देशक डा राजेन्द्र बस्नेतले भने, “हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भए पनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य छन् ।”

प्रतिक्रिया दिनुहोस्