निर्मला हत्या प्रकरण : एसपी विष्टले गृह मन्त्रालयमा स्पष्टीकरण बुझाए



काठमाडौं : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावशाली कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले आज स्पष्टीकरण बुझाएका छन्।

 

१३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्तअनुसार एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोधिएको थियो। विस्टले आज प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालयमा पठाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए।

 

गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो। भट्टले यसअघि नै स्पष्टीकरणको जवाफ पठाएका थिए।

 

एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउँदै हिजो (मंगलबार) मात्रै पत्र बुझेका थिए। पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले आज जवाफ पेस गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्