यसरी बाहिरिएको थियो प्रदेश २ मा एसइईको प्रश्नपत्र, घटनामा संलग्न ६ जना सार्वजनिक



जनकपुरधाम : प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र बाहिरिएको घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाको विवरण सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा एक शिक्षकसहित ६ जना रहेका छन्।

परीक्षा हुनु अगावै विज्ञान र समाजिक अध्ययन विषयको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरैत र दीपेन्द्र कुमार मण्डल रहेका छन्। आरोपितमध्ये मनोज यादव शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र प्रहरी जवान भएको बताइएको छ। प्रहरी जवान दिपेन्द्र आफैं परिक्षार्थी हुन भने ब्रम्हदेवले प्रश्नपत्र मोबाइलको म्यासेन्जरमार्फत पठाएका थिए।

प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो। उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णुदेव यादवलाई पठाएका थिए। यादवले पहिले मनोजलाई सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए। र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो। प्रश्नपत्र लेनदेनका क्रममा हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको भनाइ छ।

त्यसक्रममा एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो। उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीको भनाइ छ। लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि चासो देखाएका थिए। उनले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए। स्थागित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्