विरोधको ज्ञापनपत्र सिडियो मार्फत प्रधानमन्त्रीलाई



झापाः देशभर अपराधका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय नेविसंघले झापाका प्रमुख जिल्ला अधिकारी (सिडियो) श्रवणकुमार तिमल्सिना मार्फत ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीको नेतृत्वमा प्रशासन पुगेका विद्यार्थीहरुको टोलीले बुझाएको ज्ञापनपत्रमा राज्यले आमनागरिकको जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न नसकेको उदाहरण झापाको शिवसताक्षी ११ का गोमनसिंह मगर र रौतहटमा भएको दलित युवा निरञ्जन रामको हत्याकाण्डलाई लिन सकिने उल्लेख छ ।

राज्य सञ्चालनको नेतृत्वकर्ता नेकपाका नेता कार्यकर्ता ठाउँठाउँमा भइरहेका लुटपाट र चन्दा आतंक मच्चाउने कार्यमा सक्रिय भएको नेविसंघले आरोप लगाएको छ । विद्यार्थीहरुले कृषि पेशामा आवद्ध किसानहरुलाई अवस्यक पर्ने कृषि सामग्री तथा रासायनिक मलको सहज उपलब्धताका निमित्त ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी कृषि अनुदानका नाममा जिल्लाका विभिन्न पालिकाहरुमा भइरहेको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई कडा कारवाही गरी वास्तविक किसानको पहिचान गरेर कृषिमा अनुदान उपलब्ध गराउन नेविसंघले माग गर्नुका साथै स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ तिमल्सिनाले आफूले सक्ने काम आफ्नै तहबाट गर्ने र बाँकी काम गर्न सरकारलाई तत्काल जानकारी गराउने आश्वासन दिए । विद्यार्थीहरुले बुधबार दिउँसो १२ बजे सरकार विरुद्धमा बिर्तामोडको मुक्तीचोकमा शान्तिपुर्ण बिरोध जुलुस प्रदर्शन गरि अपरान्ह १ः ३० बजे प्रजिअ समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्